उपभोक्ताको सक्रियता पछि बाटो पिच


नेपाल समाचारपत्र, पाल्पा ।
वहुप्रतिक्षित चिलाङदी–चापपानी–राम्दी सडक उपभोक्ताको सक्रियता पछि पिच भएको छ ।
लामो समयसम्म निर्माण कम्पनीले काम नगर्दा अलपत्र जस्तै वनेको यो सडक खण्ड उपभोक्ता समिति गठन र त्यसको सक्रियता पछि अव अन्तिम चरण तिर पुगेको छ ।

सडक नवन्दा धुलो र हिलो बाटोबाट हैरान भएका उत्तरी पाल्पाका वासिन्दा यो सडक निर्माणसँगै खुशी छन । २०७३ सालमा विश्व बैकको सहयोगमा यस सडकको १५ किलोमिटर सडक मध्ये ८ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने काम भएको हो । जसमा पाँच किलोमिटर भन्दा वढी कालोपत्रे भइसकेको र बाकी तीन किलोमिटर सडकमा काम भइ रहेको छ । सम्झौता अवधि सम्म काम नभएको अवस्थामा थपिएको ६ महिनाको अवधिमा निर्माण कम्पनीले ८ किलोमिटर मध्ये ५ किलोमिटर सडकको कालोपत्रे गरेको हो । चिलाङदी–चापपानी–राम्दी सडकको स्तरवृद्धि गर्दै पिचको लागि २०७३ साल असोज ३ गते सम्झौता भएको थियो । गत १५ महिनाको अवधिमा सडक स्तरउन्नती गर्दै आठ किलोमिटर क्षेत्रमा पिच हुने सम्झौता भएपनि सडकमा कुनै काम हुन सकेको थिएन ।

सम्झौताको पुरानो अवधि २०७४ साल पुष २० गते नै सकिदा सम्म पनि काम शुरु नहुँदा जनता सडक नबन्ने चिन्ताले निराश थिए । २०७४ माघ ६ गते स्थानीय वासिन्दा एवम पत्रकार भगवान भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो । समिति पुर्नगठन भएकै दिन देखि समिति निरन्तर चिलाङदी–चापपानी–राम्दी सडक खण्डमा खटिएकाले काम अघि वढन सम्भव भएको समितीका अध्यक्ष भण्डारीले वताए ।

अध्यक्ष भण्डारीले निर्माण नहुनका कारणबारे खोजविन गरी उपभोक्ता समितिका निर्माण कम्पनी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानीयवासीसंग समन्वय गरी काम शुरु गराए पछि चापपानीको ठकुरीडाडा देखी गरनडाडासम्म वटासिल गराउन सफल भएको वताउछन । अहिले यो सडक जिल्लाकै नमुना सडकको रुपमा निर्माण भईरहेको छ । ठेकेदार, उपभोक्ता समिति कामको रेखदेख गर्दै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहितका ईन्जिनियरहरु दिनहु सडकमै खटिएर कामलाई निरन्तरता दिएका छन । विश्व बैंकको ८ करोड ३१ लाख रुपैयाँको सहयोगमा एसएनआरटिपि परियोजना मार्फत चापपानीको ठकुरीबारीबाट गरनडाँडासम्मका लागि वटासिलका लागि जय रक्तकाली निर्माण कम्पनीले सम्झौता गरेको थियो । १५ महिने सम्झौता अवधि भित्रै काम सक्ने गरी सामग्रीहरु जुटाइएको थियो तर विभिन्न पक्षहरुको अवरोधका कारण काम गर्न सकिएको थिएन पछिल्लो समय उपभोक्ता समितिको पुर्नगठन भएपछि काम गर्ने वातावरण मिलेकोे निर्माण व्यवसायी रामप्रसाद भट्टले बताए ।

सडक पूर्ण रुपमा पिच भएपछि तानसेन आर्यभञ्ज्याङ्ग राम्दी सडक अवरुद्ध भएमा बैकल्पिक मार्गको रुपमा चिलाङदी चापपानी सडकलाई प्रयोग गर्न सकिने छ । सिद्धार्थ राजमार्गको तानसेन राम्दी भन्दा यो सडक १५ किलोमिटर छोटो दुरीमा रहेको छ । उत्तरी पाल्पाका जनताहरु ःयाङ्जा गल्याङ, वालिङ तथा पुतलीबजार पोखरा लगायतका स्थानमा आवत जावतको लागि यो सडक प्रमूख मार्गको रुपमा रहने छ ।