गाडी सिक्दै संसदका कर्मचारी


नेपाल समाचारपत्र, काठमाडौं ।
संघीय संसद् सचिवालयका कर्मचारीलाई सचिवालयले हलुका सवारी गाडी सिकाउँदै गरेको छ ।

संघीय संसद् सचिवालयका कर्मचारी प्रशिक्षण शाखाका उपसचिव लक्ष्मण अर्यालले कर्मचारीको सिप वृद्धि गर्न र आवश्यक परेका बेला आफैं पनि गाडी चलाउन मिल्ने गरी सवारी सिकाइँदै गरेको बताउनुभयो । अहिले यो बर्षको दोस्रो चरणको कार्यक्रम चलिरहेको छ । मध्य बानेश्वरमा रहेको बुढाथोकी ड्राइभिङले टेण्डर पारेर कर्मचारीलाई सवारी प्रशिक्षण दिँदै आएको छ ।

अर्यालले कर्मचारीले समय मिलाएर सिक्ने बताउनुभयो । प्रतिनिधिसभा कार्यव्यस्था समितिका सहसचिव वंशीराज पौडेलले पनि आफूले यसअघि यसरी नै सञ्चालित तालिमबाट गाडी सिकेको बताउनुभयो । ‘सिकेपछि आउन जान सजिलो छ, चालक पर्खेर बसिरहनु परेन’ पौडेलले भन्नुभयो ।

नियमित कार्यक्रम हो हाम्रो हो अर्थ मन्त्रालयले दिन्छ’ अर्यालले भन्नुभयो ‘ यो चरणमा शाखा अधिकृतसम्मका १० जना सिक्दै हुनुहुन्छ, सवारी चालक नहुँदा पनि आफैं कुदाएर कार्यालय आउन सक्नुहोस् भन्ने उदेश्य हो ।’ प्रतिव्यक्ति २२ हजार रुपैंया सचिवालयले व्यवहोर्ने छ । आन्तरिक सेवा तथा योजना शाखाका अधिकृत शिवदत्त बरालले केही दिन अघिदेखि तालिम लिइरहेको बताउनुभयो । ‘ सिक्दैछु राम्रै छ, आँट आउन थालेको छ’ बरालले भन्नुभयो । सचिवालयले पहिले सचिव, सहसचिव, उपसचिवलाई सिकाएपछि अहिले अधिकृतसम्म आइपुगेको छ । सचिवालयले तत्कालै अधिकृतभन्दा तलका कर्मचारीका लागि तालिमको योजना बनाएको छैन ।