अविरल बर्षाका कारण मध्यपहाडी सडक अवरुद्ध


धनवीर दाहाल, रुकुम ।

अविरल बर्षाका कारण  ठाँउ ठाँउमा पहिरो गएपछि रुकुम पुर्व र रुकुम पश्चिम बिचको मध्यपहाडी सडक अबरुद्ध भएको छ । सडकको बिभिन्न ठाँउमा पहिरो खस्नुका साथै रुखहरु ढलेका र खोलाहरु बढेका कारण सवारी आवागमनमा समस्या भएको हो । रुकुम पुर्वको सदरमुकाम रुकुमकोट तथा रुकुम पुर्वका बिभिन्न ठाँउमा भित्रने तथा बाहिरिने यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् ।

सिस्ने गाउँपालिकाको रुकुमकोटदेखि रुकुमपश्चिमको रिनदहसम्मको १९ किलोमिटर दूरी पार गर्न यात्रुहरुले २ वटा गाडी फेर्नुपरेको छ । सोही खण्डमा मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको काम पनि भइरहेको र त्यसैमा निरन्तर वर्षाका कारण यात्रुहरुले दुख पाइरहेका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका र रुकुमपश्चिमको मुसीकोट नगरपालिका क्षेत्रमा पर्ने सडकमा धेरै पहिरो खसेको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको रिनदहदेखि पूर्वको रुकुमकोटसम्मको खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध छ । अप्ठ्यारो र जोखिम ठाउँमै पहिरो जाने भएपछि जोखिम मोलेरै सर्वसाधारण आवतजावत गरिरहेका छन् । मध्यपहाडी लोकमार्गमै पर्ने रुकुमगाड खोला बढ्दा सवारी वारपार गराउन कठिन भइरहेको छ ।