मृत भेटिएका ब्याण्ड माष्टर रामको हत्या भएको पुष्टी


कृष्णउदास खनाल, वीरगन्ज ।
गएको असार १० गते मृत भेटिएका ब्याण्ड मास्टर भिखारी रामको हत्या भएको पुष्ठी भएको छ ।

पर्सा प्रहरीले हत्या अभियोगमा मंगलबार तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेपछि उनको हत्या भएको पुष्ठी भएको हो । वीरगन्ज महानगरपालिका वडा नं ८ गहवाटोल बस्ने पशुपति बैण्डका संचालक भिखारी रामलाई असार १० गते साझ अज्ञात व्यक्तिले वीरगन्जको रेल्बे रोड र लिंक रोडको बिचमा रहेको गल्ली बाटोमा हत्यागरी फरार भएका थिए । पक्राउ परेका तीनैजना मध्ये अत्याधिक मादक पदार्थ सेवन गरेका महजिद मियाँ हजामले सामान्य विवादमा भिखारी रामको हत्या गरेको प्रहरी अनुसंधानबाट खुलेको एसपी ढकालले जानकारी दिए ।

पन्ध्र दिनको अथक प्रयास पछि अभियुक्तहरुलाई पक्रन सफल भएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका २० बस्ने महजिद मियाँ हजाम, जिल्ला सर्लाही बरहथवा १० बस्ने भरत थापा, जिल्ला कास्की लेखनाथ नगरपालिका १ बस्ने बिजय नेपाली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई कर्तव्य ज्यान मुद्धामा अदालतबाट म्याद लिई अनुसनधान भईरहेको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।