ठाडो पत्रले अञ्चल अस्पतालको सटर भाडाँ टेण्डर स्थगित


यमलाल भुसाल, बुटवल ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका निजी सचिवको ठाडो पत्रले लुम्बिनी अञ्चल अस्पताल बुटवलको व्यवसायीक सटर भाडामा लगाउने टेण्डर स्थिगीत भएको छ ।
मन्त्री यादवका निजी सचिव भवनाथ खतिवडाद्धारा हस्ताक्षरीत पत्रले लुम्बिनी अञ्चल अस्पताल बुटवलको व्यवसायीक सटर भाडामा लगाउने टेण्डर स्थिगीत भएको छ ।
पत्रमा देश प्रादेशिक संरचनामा अगाडी बढिरहेको अवस्थामा अञ्चल अस्पताल संचालन गर्ने, सेवाहरु थप गर्ने र आधिकारीक सेवा प्रवाह गर्ने दायित्व समेत सम्बन्धित प्रदेश सरकारलाई स्वतः जाने हुँदा हाल प्रक्रियामा रहेको व्यावसायीक सटरहरुको टेण्डरको टुङ्गो पनि प्रदेश सरकारबाट नै लगाउनुहुन निर्देशनसहित पत्र आएको २० मिनेटको अन्तरालमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले अर्को सुचना प्रकाशन नहुदासम्म स्थगित गरिएको भनी सुचना टाँस गर्नु भएको हो ।
गत जेष्ठ २७ गते १ महिनाको लागि खुला गरिएको सटर भाडामा दिने सम्बन्धी बोलपत्र आव्हान गरिएको थियो ।
मन्त्री यादवका निजी सचिवले पठाएको पत्रको वारेमा अस्पतालका अध्यक्षलाई जानकारी नगराई प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण खनालले टेण्डर रोकेका हुन । अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले मेसुले आफ्नो हैसियत देखाएको आरोप लगाउदै अस्पताल विकासको लागि भूमिका नखेलेको टेण्डर प्रक्रिया रोक्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.खनालले सुचना प्रकाशन गरी सटरहरुको टेण्डर प्रक्रिया प्रदेश सरकारले टुङ्गो लगाउने भन्दै निर्देशन आएकोले स्थिगित गरिएको जानकारी गराएर अस्पतालबाट बाहिरिनु भएको छ ।
समितिका अध्यक्ष खनालले पत्रकार सम्मेलनको आयोजना गरी मेसुले समन्वय नगरेको भन्दै मेसु मनपरी चल्ने गरेको गुनासो गर्नु भयो ।
अस्पतालको इतिहासमा स्वास्थ्य मन्त्रीका निजी सचिवले कुनै पत्र पठाउने प्रचलन नरहेकोमा अहिले यसरी पत्र आउनु र पत्र आएको २० मिनेटमै टेण्डर प्रक्रिया रोक्नुमा ठूलो चलखेल भएको देखिन्छ ।
१ महिना अगाडीदेखी टेण्डर प्रक्रिया खुला भएकोमा २ सय ४५ टेण्डर फर्म विक्री भैसकेको र १२ वटा प्रक्रियामा समावेश भएका छन् । जम्मा ६९ वटा सटरका लागि टेण्डर आह्वान गरिएको हो ।
हाल अस्पतालका ६९ वटा सटरवाट बार्षिक रुपमा ६ करोड ५९ लाख ६० हजार १६७ रुपैँया भाडा वाफत आउने गर्दछ भने जग्गाको भाडाँमात्रै ८० लाख १ हजार ७ सय १६ रुपिँया उठ्ने गरेको छ ।
प्रमुख मेसु डा. खनाल र अध्यक्ष खनालविच देखिएको यो विवादले अस्पतालको टेण्डर प्रक्रिया, अस्पतालको फार्मेसी हटाउने निर्णय, खाली जग्गा व्यवस्थापन तथा जग्गा खाली गरी नयाँ निर्माण जस्ता महत्वपूर्ण विषयहरु समेत अलपत्र परेका छन् ।
‘टेन्डर सकिन दुई घण्टाअघि रोकिएकोले यो नियोजित र अबैधानिक भएको तथा अस्पतालको आम्दानीलाई असर गर्ने गरि गलत निर्णय भएको अध्यक्ष खनालको भनाइ छ ।