२६ अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई सीपमूलक तालिम


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
लमजुङ । लमजुङमा अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरू २६ जनालाई ५ दिने सीपमूलक तालिम दिइएको छ । अपाङ्ग संरक्षण समाज, लमजुङको आयोनजामा सो तालिम बेसीशहरमा गरीएको हो ।
तालिममा बेसीशहर नगरपालिकाको ३, ७, ८ र ९ वडाका बासिन्दाहरू सहभागी भएको अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार तालिममा ४ जना पुरुषसहित २६ जनाले भाग लिएका हुन् । उनीहरूलाई दालमोठ, आलुचिप्स, भुजिया र निम्किन बनाउन सिकाइएको प्रशिक्षक बेलजङ्ग मगरले बताउनु भयो ।
तालिमको समापनका अवसरमा सहभागी बेसीशहर नगरपालिका– ७ निवासी देवी गुरुङ र वडानं ९ निवासी सुष्मा केसीले आफूले यो सीपको उपयोग गर्नका लागि निकट भविष्यमै यसको उद्योग सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बेसीशहर नगरपालिकाका उपमेयर लक्ष्मीदेवी अधिकारीले उदघाटन गर्नु भएको सो तालिमको समापनमा वडानं ९ का अध्यक्ष सरद बरालले सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । बेसीशहर नगर कार्यपालिकाका सदस्य मन्दिर दनाईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले गर्नु भएको थियो ।