गोरखापत्र संस्थानको ऐन समयानुकूल बनाउन सुझाव


काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन तथा छानबिन समितिले गोरखापत्र संस्थानको विद्यमान ऐनमा समयानुकूल परिवर्तन गर्नुपर्नेलगायत सुझाव दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई आइतबार बुझाइएको सो समितिको प्रतिवेदनमा संस्थानको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने, सञ्चालक समितिमा योग्य र सक्षम व्यक्ति नियुक्त गर्नुपर्ने, अम्बुड्सम्यान स्थापना गर्नुपर्ने र समस्याहरुको दीर्घकालीन समाधान खोजी गरी संस्था सुधार हुनुपर्नेमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री बाँस्कोटाले सुझावहरु संस्थानको सुधारका लागि अभिन्न अंग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमा प्रतिवेदन दिएकामा समितिलाई धन्यवाद पनि दिनुभएको थियो ।

मन्त्रालयले गत जेठ ४ गते संस्थानको समग्र अध्ययन र छानबिनका लागि विष्णु रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो ।
रासस