सरकार सम्बेदनशिल नबन्दा डा.केसीको जीवन जोखिममा


भगवती तिमल्सिना, काठमाडौ ।
प्रा।डा।गोविन्द केसी चिकित्सा शिक्षा बिधेयक प्रा।डा।केदार भक्त माथेमा आयोगको मर्म अनुरुप नै हुनुपर्ने माग राख्दै जुम्लामा पुगेर १० दिन देखि १५ औं पटक आमरण अनसन बस्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर भएको र दिनप्रतिदिन खस्कदो अवस्थामा पुग्दा समेत केपी ओली नेतृत्वको सरकार सम्बेदनशिल नबन्दा उहाँको जीवन जोखिममा पर्दै गरेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
डा।केसीले अनसन शुरु गर्नुभएको तेस्रो दिनदेखि स्वास्थ्य समस्या देखा पर्दै आएको र १० औं दिनमा पुग्दा जुनसुकै बेला खतरा निम्तिन सक्ने संकेत उपचारमा संलग्न चिकित्सकहरुले सरकार समक्ष जानकारी गराउँदै आएका छन् । तर सरकार भने टसका मस नभै एउटै कुरा रटानमा छ । अनसन तोडेर वार्तामा आउँ सबै कुरा मिल्छ ।
यतिबेला डा।केसीको स्वास्थ्य अवस्था छातीको बीच भागमा दुखाई, कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, बिसाबमा किटोन बढी ५ प्लस, सेतो रक्तकोशिका त्रमिक रुपमा घट्दै गएको , रगतमा चीनीको मात्रा घट्दै गएको , रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको र मुटुको चाल तल माथी भईरहेको उपचारमा संलग्न डा।प्रवीण कुमार गिरी डा।धिरज गुरुङ र डा।सिद्धार्थ खातीले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
यतिबेला उहाँको स्वास्थ्य अवस्था अत्यन्तै जटित बन्दै गएको र जुनसुकै बेला संक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्पेशल केयर यूनिटमा ाखी डा।केसीको उपचार जारी राखिएको र जुनसुकै बेला आईसीयूमा सार्नुपर्ने अवस्था रहेको डा।गिरीले जानकारी गराउनुभयो ।
दुईबर्ष अघि डा केसीले यीनै माग अघि सारेर अनसन बसेको १५औं दिनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले डा केसीसँग ’काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने सहमति गरेको थियो । यसका साथै मनसायपत्रमा नवीकरणका विषयमा काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ कलेजका लागि मनसायपत्र नवीकरण नगर्ने । यो सहमती गरिरहँदा सरकारको नेतृत्वमा हालका प्रधानमन्त्री ओलीले गर्नुभएको थियो । उक्त सहमतिलाई कार्यान्वयनमा लैजाने भन्दै तत्कालीन मन्त्रिपरिषद् बैठकले निर्णय समेत गरेको थियो । तर दुई बर्षपछि त्यहि सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित डा।केसी १० दिन देखि १५ औं अनसनमा जुम्लामा सघर्षरत हुनुहुन्छ । प्रधानमन्त्री ओली भने आफ्नै नेतृत्वमा भएको निर्णय कार्यान्वयन नगर्ने अडानका साथ डा।केसीलाई धम्क्याउँदै हुनुहुन्छ ।
सोही सम्झौताका आधारमा सरकारले अघि सारेको चिकित्सा शिक्षा अध्यादेशमा समेत काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने उल्लेख गरिएको छ । आफैले निर्णय गरेका कुरालाई लत्याउँदै चिकित्सा शिक्षाका बिषयमा अनसनरत डा।केसीलाई धम्क्याउन समेत पछि नपर्नुभएका केपी ओलीसँग थपब बोलीरहनु नपर्ने भन्दै डा।केसीले कुरा गर्नै अस्वीकार गर्नुभएको नेपाल चिकित्सक संघले जनाएको छ । उता संघबाट डा।केसीको स्वास्थ्यअवस्था बुझ्न जुम्ला पुगेको टोलीले भने प्रधानमन्त्री ओलीको सचिवालयको आग्रहका आधारमा डा।केसी र प्रम ओलीबीच कुरा गराउन प्रयास जारी राखेको जनाएको छ ।
यता नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सोमबार संसद्मा बोल्दै अनसनरत डा केसीको विग्रदो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै डा।केसीलाई चिन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । उहाँले डा।केसीसँग लोभ, लालच, स्वार्थ विनाको नेपालको चिकित्सा शिक्षा सुधार्ने नशा छ । त्यो नशा कसैले नजरअन्दाज गरेर उत्रँदैन । कसैले तर्साएर पनि उत्रँदैन। उहाँको माग मिलेर सम्बोधन गरौं भन्नुभयो । प्रधानमन्त्री ओली भने बिषयको गाम्भिर्यतामा भन्दा बाहिर रहेर तर्क दिँदै आउँनुभएको समेत थापाले आरोप लगाउनुभयो ।