जनआकांक्षा अनुकूल विकास योजनामा नेपाली सेनाः रक्षामन्त्री


काठमाडौँ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले संविधान र राष्ट्रिय सुरक्षा तथा नेपाली जनआकांक्षा अनुकूल विकास योजनामा काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाउनुभएको प्रश्नको आज जवाफ दिने क्रममा उहाँले राष्ट्रिय गौरवको आयोजनामा रहेको ७६।२ किलोमिटरको द्रूत मार्ग समयमै सम्पन्न गर्ने बताउनुभयो ।

रक्षामन्त्री पोखरेलले २७ वटा सडक निर्माण कार्य र ३० वटा पूल निर्माणमा नेपाली सेना लागि परेको जानकारी दिनुभयो । उहाँले रक्षा मन्त्रालय र नेपाली सेनालाई बलियो बनाउन सरकारले बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।

उहाँले सेनाको छनोट तथा बढुवामा योग्यता र कार्यदक्षताका आधारमा भएको र सैनिक नियमावलीअनुसार ‘फास्टट्याक’ मा बढुवा हुँदै आएकामा त्यसलाई समयअनुसार संशोधन गर्ने विश्वास दिलाउनुभयो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वमा शान्ति सेना पठाउने नेपाल छैटौँ ठूलो मुलुक भएकाले यसले कूटनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै रक्षामन्त्री पोखरेलले विपद् व्यवस्थापनका लागि सेनालाई प्रभावकारी रुपमा अगाडि बढ्न साधन सम्पन्न बनाइने बताउनुभयो ।

आगामी आवमा ‘बङ्करदेखि ब्यारेकसम्म’ भन्ने नाराका साथ स्रोत साधन सम्पन्न र पूर्वाधारमा निर्माण कार्यलाई विशेष ध्यान दिइको जानकारी दिँदै मन्त्री पोखरेलले भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रूत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो ।

सेनाले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विदेशी सेनासँग सहकार्य गरेको भन्दै उहाँले सेनालाई सबै तरहले चुस्त राख्नका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको दाबी गर्नुभयो ।

कानूनभन्दा बाहेक कसैले पनि निवृत्त सैनिक उच्चअधिकारीका घरमा काम गर्ने जवान राख्न नपाइने व्यवस्थालाई कडाइपूर्वक लागू गरिने स्पष्ट पार्दै मन्त्री पोखरेलले सैनिक मापदण्डअनुसार सेनामा समावेशीता कायम गरिने बताउनुभयो । उहाँले मधेसी, दलित तथा अन्य समुदायमा नागरिकलाई सेनामा अधिकतम सहभागी हुने अवस्था सिर्जना गरिनेछ भन्नुभयो ।
रासस