भ्रष्टाचार निमिट्यान्न पार्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिँदै उहाँले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न भ्रष्टाचार नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।

सुशासनबिना विकास सम्भव नभएको र विकासबिना समृद्धि नहुने भन्दै भ्रष्टाचार नियन्त्रण गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले संसद्का सबै सांसदको भावना भ्रष्टाचार नियन्त्रण र देशमा सशासन कायम हुनुपर्छ भन्ने रहेको आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयमा धेरै अधिकार केन्द्रित गरिएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले ७६१ वटै सरकार र त्यसअन्तर्गतका सबै निकायलाई प्रभावकारीरुपमा सञ्चालन गरिने स्पष्ट पार्नुभयो । राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयमा बजेट बढी भयो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत १८ वटा कार्यालय रहेको र सोही कार्यालयले ती रकम खर्च गर्ने भन्दै प्रधानमन्त्री कार्यालय मितव्ययितालाई विशेष ध्यान दिने बताउनुभयो ।

अपराध गर्नेले दण्ड पाउनुपर्ने, सदाचार नीतिअनुसार काम गर्ने र अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले राम्रा काम गर्नेलाई सम्मान गर्ने र भ्रष्टाचारका विरुद्ध निर्मम हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अनुहार हेरेर काम गर्ने होइन, कानूनअनुसार काम हुन्छ, सरकार दबाब र प्रभावमा पर्दैन । औचित्यपूर्ण कार्य र सत्यमार्गमा हिँड्न सरकार दृढ छ ।”

उहाँले ६० प्रतिशत जनसंख्या क्रियाशील र त्योमध्ये २५ प्रतिशत मुलुक बाहिर जाँदा पनि देशभित्रको साधन र स्रोत प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पानी जमेको ठाउँका खाल्टा पुर्ने कार्य यथाशीघ्र पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन दिनुभयो । उहाँले उत्पादक र उपभोक्ताका बीचमा बसेर अनुचित लाभ लिनेसँग होसियार हुनुपर्नेमा जोड दिँदै त्यस्ता बिचौलियालाई नियन्त्रणमा सरकार प्रभावकारी रुपमा अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउनुपर्छ भन्ने विषयमा आफू गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध कार्यलाई प्रभावकारीरुपमा अगाडि बढाइने स्पष्ट पार्नुभयो । उहाँले आवश्यकताको संघीतामा हामी अगाडि बढेको भन्दै संघीयता कार्यान्वयनमा केही कमीकमजोरी भए सच्चाएर अगाडि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “संघीयतालाई आफ्नै मौलिक ढङ्गले अघि बढाउनुपर्छ ।”

उन्नाइस वर्षदेखि हुलाकी राजमार्गको कुरा हुने गरेको उल्लेख गर्दै उहाँले हुलाकी राजमार्गलाई सरकारले आफैँ बनाउने र त्यसमा बजेट अभाव हुन नदिने बताउनुभयो । प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय समन्वय गरेर काम गर्ने अगाडि बढ्ने भन्दै विगतको असमन्वयको अन्त्य हुने स्पष्ट पार्नुभयो ।

जनता आवास कार्यक्रमलाई नयाँ ढंगले एकीकृत वस्ती विकासका रुपमा अगाडि बढाइने भन्दै उहाँले विकासका अनुकूलता थप्न सकिने स्थानमा बस्ती विकास गरिने नीतिअन्तर्गत अगाडि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आधुनिकीकरण र व्यावसायिकीकरण गरेर अगाडि बढेर सन्तुलित विकास गरिने बताउनुभयो ।

तुइनका स्थानमा झोलुङ्गे पुलले स्थानान्तरण गर्ने कार्यलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै उहाँले एउटा पनि तुइन रहने अवस्था हुन्न भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “तुइनमुक्त देश हुन्छ, जहाँबाट जनताको दःुख विस्थापन हुन्छ, पछौटेपनको अन्त्य हुन्छ ।” प्रधानमन्त्रीले पक्की पुल बन्न नसक्ने स्थानमा झोलुङ्गे पुल र झोलुङ्गे पुल बन्न नसक्ने स्थानमा केबलकार बनाउने स्पष्ट पार्नुभयो ।

उत्साहका साथ विनियोजन रकम, विभिन्न शीर्षकमा गम्भिरतापूर्वक छलफल गर्नुभएको राष्ट्रियसभा र सांसदलाई धन्यवाद व्यक्त दिँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गर्न सबैको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

‘मलाई शक्तिशाली हुने इच्छा र चाहना छैन’

संघीयताको अधिकारमा कतै अतिक्रमण नभएको भन्दै प्रधानमन्त्री ओलीले आफूले कुनै पनि मन्त्रालय नराखेको तथा आफू र आफ्नो कार्यलयप्रति शंका नगर्न आग्रह गर्नुभयो । शक्तिशाली हुने आफूलाई इच्छा तथा चाहना नभएको र आफू त्यसमा सहज रहेको उल्लेख गर्दै उहाँले सरकार भने शक्तिशाली चाहिन्छ भन्नुभयो ।

गलत सामाजिक मान्यताका विरुद्धका अभियान लिएर आफू कर्णालीदेखि सिराहासम्म पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस स्थानका सांसदले पनि कुरीति तथा पछौटेपनालाई अन्त्य गर्ने गरी अभियान चाल्नुपर्ने बताउनुभयो ।

संविधान अपरिवर्तनीय नहुने भन्दै उहाँले आवश्यकताको आधारमा संविधान संशोधन हुन्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानमा विभेद भए हटाइन्छ, तर संविधान संशोधन दोहोरी गाउने भाका होइन ।” उहाँले नेपाली जनताको आवश्यकताअनुसार विकासका लागि संविधान संशोधन हुन्छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले समतामुलक सामाजिक व्यवस्थाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाल यहाँ बसोवास गर्ने सम्पूर्ण जातजाति र भाषाभाषीको देश हो, केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन सक्दैन भन्नुभयो ।
रासस