राउटे युवालाई सिप विकास तालिम


हिक्मत नेपाली, दैलेख ।
लोपोन्मुख तथा पराम्परागत सिप युवा पुस्तामा हस्तान्तरण, प्रवर्धन तथा प्रमाणीकरण कार्यक्रम अन्तरत नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिको कार्यालय दैलेखको आयोजनमा राउटे समुदायका युवाहरुलाई सिप विकास तालिम प्रदान गरिएको छ ।

राउटे युवाहरुलाई काठको सामान बनाउने सिप विकास तालिम १५ दिन सम्म संचालन भएको जिल्ला युवा समितिको कार्यालय दैलेखका कम्प्युटर अपरेटर अजय श्रेष्ठले जानकारी दिए । १५ दिन सम्म संचालन भएको तालिम आइतवार सकिएको हो । गुरासँ गाउँपालिका वडा नं. ८ मा बस्दै आएका राउटे समुदायलाई तालिम प्रदान गरिएको श्रेष्ठले जनाए ।

तालिम समापन कार्यक्रम जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द प्रसाद दाहालको अध्यक्षतामा भएको थियो । तालिम समापनमा राउटे उत्थान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सत्यदेबी अधिकारी, महासचिव रमा महरा र सामाजिक विकास मन्त्रालयका अधिकृत वमबहादुर के.सी. सहभागि थिए ।

कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद दाहालले राष्ट्रिय युवा परिषद्ले सिप हस्तान्तरण देखि वेरोजगार, आत्मनिर्भर बनाउन नेपाली युवा हरूलाई प्रोत्साहन गर्दै परिषद् अगाडी बढिरहेको बताए । समृद्ध नेपाल निर्माणमा युवाहरूको हरेक स्थानमा सहभागिताको अवश्यक हुन्छ अध्यक्ष दाहालले भने “नेपाली युवाहरू भविश्यका कर्णधार मात्र नभएर वर्तमानको हिस्यदार हुन् ।” तालिम अवधिभर बनेका काठका सामाग्रीहरू विक्री गर्ने जिम्मा राउटे उत्थान प्रतिष्ठानले लिएको छ ।