अग्रणी महिलालाई दबाब समूहको सम्मान


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
महिला सुरक्षा दबाब समूहले स्थानीय तहको निर्वाचनमा निर्वाचित उपप्रमुखलाई आज सम्मान गरेको छ । राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजित कार्यक्रममा समूहको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा अग्रणी महिलालाई सम्मान तथा बधाई र शुभकामनाको आयोजना गरेको समूहकी केन्द्रीय सदस्य मीना स्वर्णकारले जनाउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उहाँहरुलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएको हो । मन्त्री थापाले कला क्षेत्रकी अग्रणी उर्मिला गर्ग र शिक्षा तथा स्काउटिङमा अग्रणी महिला रामबदन जोशीलाई दोसल्ला ओढाएर र प्रमाणपत्र दिएर सम्मानसम्मान गर्नुभएको हो । समूहले काठमाडौं, ललितपुर र भक्तपुरका महिला उपप्रमुखलाई बधाई दिँदै प्रशंसापत्र प्रदान गरेको छ ।

स्वर्णकारका अनुसार दवाव समूहमा आवद्ध सांसदका साथै अन्य जिल्लामा रहेर उपप्रमुख बनेकालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । समूहकी अध्यक्ष साबित्री थापाले स्थापना गर्नुभएको अक्षयकोषबाट वार्षिक रुपमा सम्मान गर्दै आएको आयोजकले जनाएको छ । थापा वर्तमान अध्यक्ष हुनुहुन्छ ।

गतवर्षको कार्यक्रममा प्रशंसापत्र प्रदान गरिने सूचीमा रहेका र त्यतिबेला छुटेका स्वर्णकारसहित अन्यलाई पनि आजै प्रशंसापत्र वितरण गरिएको थियो । ७ वर्षीया बालिकालाई अपहरण गरेको घटनालाई सम्झिएर विभिन्न सामाजिक महिला संघसंस्थाको सहभागितमा महिला सुरक्षा दबाब समूह गठन गरिएको थियो ।