प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न माग


रामधन राई, खोटाङ ।
आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर गतिबिधि गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेललाई कारबाहीको माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठनहरुले सोमबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि कारबाहीको माग गरेको हो ।

युवा संघ नेपाल, अनेरास्ववियु, वाईसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले पोखरेललाई कानूनी कारबाही गर्न प्रजिअ समक्ष माग गरिएको युवा संघका केन्द्रीय सदस्य दिलचक्र राईले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनप्रतिनिधिलाई बेवास्ता गर्दै वडा नम्बर १४ र १५ को खाता रोक्का गरेको ज्ञापनपत्रमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत पोखरेलको उक्त गतिविधि नियम बिपरित भएकाले कारबाहीको माग गरिएको बताईएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलको उक्त गतिविधिका विषयलाई लिएर नगरकार्यपालिकाको बैठकमा छलफल गर्दा राजनीतिकरण गरेको ज्ञापनपत्रमा उल्लेख । प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई प्रजिअले तत्काल कानूनी कारबाही नगरेमा संगठनको तर्फबाट कारबाही गर्ने ज्ञापनपत्रमार्फत चेतावनी दिईएको छ ।

ज्ञापनपत्रमा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दिलचक्र राई, वाईसिएलका जिल्ला अध्यक्ष मिलन राई, अनेरास्ववियुका पूर्व अध्यक्ष ओमप्रकाश घिमिरे र अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष माया राईले हस्ताक्षर गर्नुभएको छ । भातृ संगठनको ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले उक्त घटनाको विषयमा आफू गम्भीर रहेको बताउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलले दुईवटा वडा कार्यालयको खाता रोक्का गर्दा सामाजिक सुरक्षाभत्ता लगायतका बजेट निकासा नभएपछि सेवाग्राही मारमा परेका छन् ।