पार्टी बलियो बनाउन एक हौंः सभापति देउवा


काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गर्नुभएको छ ।

आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता व्यक्त गर्नुभयो । सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताउनुभयो ।

वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको उल्लेख गर्दै सभापति देउवाले भन्नुभयो, “निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि ।” टिकट वितरणमा केही कमजोरी भएको स्वीकार्दै उहाँले आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिलाई रोक्ने बताउनुभयो ।

निर्वाचनमा पराजयको कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग पनि हो भन्ने भनाइको खण्डन गर्दै सभापति देउवाले भन्नुभयो – “नेपाल प्रहरीको प्रमुख सरकारले नै बनाउने हो । प्रहरीको कार्यसम्पादन मूल्यांकनका आधारमै उक्त काम तत्कालीन सरकारले गरेको हो ।”

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुटलाई व्यवस्थापन गर्नुपर्छ ।” पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उहाँले पार्टीमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले मुलुक र लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त काँग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफू सदैव लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि लडेको बताउँदै उहाँले लोकतन्त्र जोगाउनकै लागि आफू तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० सँग सहकार्य गर्न छोडेर काँग्रेसमा फर्केको स्मरण गराउनुभयो ।

उहाँले तत्कालीन मधेशी जनाधिकार फोरम ९लोकतान्त्रिक० का हजारौँ नेता कार्यकर्ताको व्यवस्थापनका लागि एकीकरणका बेला भएका सहमति कार्यान्वयन गर्न नेतृत्वसँग माग गर्नुभयो ।

पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अग्रजहरुको विचार मननयोग्य भएकाले आत्मसात् गरी आगामी दिनमा सबै सुध्रिने बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।

काँग्रेस नेता डा नारायण खड्काले काँग्रेस सुदृढीकरणका लागि पार्टीमा लामो समय योगदान गरेका पुराना नेताका अनुभव महत्वपूर्ण हुने बताउँदै पार्टी अफ्ठ्यारो परिस्थितिमा भएका बेला उहाँहरुका अनुभवबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका पुराना नेताहरु ओमकार श्रेष्ठ, उत्तमनारायण श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, विनयध्यज चन्द, चिरञ्जीवी वाग्ले, तीर्थराम डंगोल, दामोदर गौतम, विपिन कोइराला, रामबहादुर गुरुङ, श्यामलाल श्रेष्ठ, हीरादत्त भट्ट, तिलकप्रसाद न्यौपानेले पार्टीमा देखिएका समस्या केलाउँदै सुदृढीकरणका लागि सुझाव दिनुभएको थियो ।
रासस