डेढ करोडको लागतमा पाँचवटा पसल


नगरकोट ।
एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएको छ ।

उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गर्नुभयो ।

उहाँले भक्तपुर नगरपालिका– १ दूधपाटीमा मःम एण्ड पिजा घर, कस्तुरी फेसियल एण्ड सैलुन, अस्री २।६ कलेक्सन, पटुका बुटिक र ०१०१ ट्याटु स्टुडियो सञ्चालन गर्नुभएको छ । मःम एण्ड पिजा घरमा नेपाली अर्गानिक कफीसमेत पाइन्छ ।

एआर समूहकी सञ्चालिका अनु गिरीले भक्तपुरमा रहेका चेन पसल तथा अन्य व्यवसायको अध्ययन गरेर मात्रै आफूहरु सार्वजनिकरुपमा अघि बढेको बताउनुभयो । “उपभोक्ताको जीवनशैली तथा खानपानमा धेरै परिवर्तन आइसकेको छ”, उहाँले भन्नुभयो, “त्यसैलाई सम्बोधन गर्न अहिलेको आवश्यकता एकै ठाउँमा उपलब्ध गराउने गरी पाँचवटा फरकफरक पसल सञ्चालनमा ल्याएका हौँ ।”

युवायुवतीको चाहना र मागबमोजिम एआर समूहले भक्तपुरसँगै काठमाडौँ, ललितपुर र काभ्रेमा आफ्नो चेन व्यवसाय विस्तार गर्ने समूहका अर्का सञ्चालक रविन अवालले जानकारी दिनुभयो । उहाँका अनुसार यसै वर्षभित्र भक्तपुरमा थप दुईवटा चेन पसल खोल्ने र दुई वर्षभित्र काठमाडौँ, पाटन र बनेपामा गरी पाँचवटा चेन पसल सञ्चालनमा ल्याइनेछ । उहाँले व्यवसायसँगै समूहको चेन पसललाई आवश्यक जनशक्तिसमेत आफैँले तयार गर्ने सोच रहेको बताउनुभयो ।

“दक्ष जनशक्ति पाउन समस्या छ”, उहाँले भन्नुभयो, “दक्ष जनशक्ति तयार गर्न चेन व्यवसायसँगै तालीम केन्द्र सञ्चालन गर्ने हाम्रो योजना छ ।” यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मा प्रक्रिया अगाडि बढाइएको सञ्चालक अवाल बताउनुहुन्छ । हाल सञ्चालनमा आएका पाँचवटा पसलमा २१ युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
रासस