अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी दिन मेला


काठमाडौँ ।
शैक्षिक परामर्श संघ (इक्यान)ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्शका लागि १२आँै बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

संघले आज यहाँ पत्रकार सम्मेलन गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी दिन मेला आयोजना गर्न थालिएको संघका अध्यक्ष विष्णुहरि पाण्डेले बताउनुभयो ।

साउन ३ देखि ६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चल्ने उक्त मेलामा करीब एक सयभन्दा बढी कक्ष रहनेछन् । उहाँले मेलामा अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नवीनतम जानकारी तथा विभिन्न देशका शिक्षा नीति र नीतिमा आएका परिवर्तनबारे विद्यार्थीले जानकारी लिनसक्ने बताउनुभयो ।

यसैगरी, मेलामा विद्यार्थीलाई अध्ययन गर्न जाने देशको रहनसहन, हावापानी, वातावरण, देश अनुसारको शुल्कसहित अध्ययन गर्न जानका लागि सबै विषयवस्तुका बारेमा समेत जानकारी गराइने पाण्डेले बताउनुभयो ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, अमेरिका, अष्ट्रेलियालगायत देशका कलेज तथा विश्वविद्यालयको सहभागिता रहनेछ ।
रासस