खेलकूदको क्षेत्रमा लगानी बढाउनैपर्छः अध्यक्ष दाहाल


काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल क्षेत्रले मजबुत बनाएको छ । उनीहरुले त्यसबाट बढी प्रगति पनि गरेका छन् । नेपालले पनि खेलकूद क्षेत्रलाई बढी महत्व दिएर लगानी गर्नुपर्छ र राष्ट्रिय एकताको आधार तयार पार्नु पर्दछ ।”

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपालका लागि खेलकूद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले अगाडि सारेको समृद्ध नेपाल र सुखी नेपालीको संकल्पलाई पूरा गर्न पनि खेलकूद क्षेत्रमा लगानी बढाउनैपर्ने बताउनुभयो ।

संविधानले नै मुलुकलाई समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको, आफ्नो पार्टीले समृद्ध समाजको परिकल्पना गरेको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको संकल्प लिएकाले खेलकूद क्षेत्र पनि त्यसको एउटा आधार बन्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले विद्यालय तहदेखि विश्वविद्यालयको तहसम्मै खेलकूद क्षेत्रलाई एउटा महत्वपूर्ण शैक्षिक कार्यक्रमका रुपमा राखेर प्राथमिकतामा राख्नुपर्ने र महत्व दिइनुपर्नेमा जोड दिनुभयो । लामो मेहनत, बलिदान र प्रयासबाट नेपालमा राजनीतिक स्थायित्वको वातावरण बनेको, स्थायी सरकार बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले आर्थिक समृद्धि र विकासको योजनासमेत तयार भएकाले यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

खेलकूद क्षेत्रमा कस्तो योजना बनाउने भन्नेमा यसै क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञ तथा विशेषज्ञले पार्टी नेतृत्वलाई सुझाव दिनुपर्ने उहाँको जोड थियो । विगतमा राज्यका हरेक क्षेत्रमा अस्थिरता र अराजकता रहेको तथा खेलकूद क्षेत्रसमेत अछुतो नरहेको भन्दै अब भने नकारात्मक प्रवृत्तिलाई हटाएर सकारात्मक प्रवृत्तितर्फ दोहो¥याउन अग्रसर हुनुपर्ने स्पष्ट पार्नुभयो ।

आफूले विगतदेखि नै खेलकूद क्षेत्रलाई सुधार गर्ने संकल्प गरेको जानकारी दिँदै अध्यक्ष दाहालले शैक्षिक रुपमा पनि सबल र सक्षम हुँदै दक्ष खेलाडी तयार पार्न सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो । खेलकूद क्षेत्रको विकासका लागि सरकारले बजेट बढाउने प्रयास गरेको भए पनि पुग्दो नभएकामा पार्टी नेतृत्वले गम्भीर भएर समीक्षा गरेको र कुनै न कुनै स्रोतबाट भए पनि थप बजेट उपलब्ध गराउने निष्कर्षमा पुगेको उहाँको भनाइ थियो ।

आफूले पनि नियमित रुपमा टेबल टेनिस खेल्ने गरेको जानकारी दिँदै अध्यक्ष दाहालले स्वस्थ र तनावरहित जीवनका लागि पनि खेलकूद अनिवार्य शर्त रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु टोपबहादुर रायमाझी, जीवनराम श्रेष्ठ र पुरुषोत्तम पौडेलले नेपालको खेलकूद क्षेत्रको विकासका लागि लगानीमा वृद्धि, सहज नीतिको व्यवस्था तथा शैक्षिक रुपमा नै कार्यक्रम जरुरी रहेको बताउनुभएको थियो ।
रासस