प्रदेश ७ को आकस्मिक कोष विधेयक पारित


धनगढी ।
प्रदेश नं ७, प्रदेशसभाको आजको बैठकमा दफावार छलफलपछि प्रदेश आकस्मिक कोष विधेयक, २०७५ पारित गरिएको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिं बोहराले बैठकमा उक्त विधेयकमाथि सभाबाटै दफावार छलफल भई पारित गरियोस् भन्ने प्रस्ताव गर्नु भएको थियो ।

विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य भरतबहादुर खड्का, पूर्णा जोशी, गोविन्दराज बोहरा, अमरबहादुर साउद, हर्कबहादुर कुँवर र देवकी मल्ल थापाले भाग लिनुभएको थियो ।

यसअघि मन्त्री बोहराले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बैठकमा टेबुल गर्नु भएको थियो ।

आजको बैठकले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक सोमबार अपराह्न ४ बजे बस्नेछ ।

सभामुखको पारिश्रमिक रु ५५ हजार

‘प्रदेशसभाका पादाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा सभामुखको पारिश्रमिक मासिक रु ५५ हजार प्रस्ताव गरिएको छ । यस्तै, विपक्षी दलका नेता र उपसभामुखको रु ५१÷५१ हजार, सत्तापक्षको प्रमुख सचेतकको रु ४९ हजार ५००, सत्ता पक्षका सचेतक र विपक्षी दलका सचेतकको रु ४९ हजार र प्रदेशसभा सदस्यको रु ४८ हजार मासिक पारिश्रमिक प्रस्ताव गरिएको छ ।

पदाधिकारी तथा सदस्यको प्रतिदिनको बैठक भत्ता समान रु ८५० तोकिएकामा मासिक आवास सुविधाबापत सभामुखलाई रु २० हजार, विपक्षी दलका नेता र उपसभामुखलाई रु १८÷१८ हजार, सत्ता पक्षका प्रमुख सचेतक तथा विपक्षी दलका सचेतकलाई रु १६÷१६ हजार र सदस्यलाई रु १५ हजार तोकिएको छ ।

फर्निचर खर्चबापत एक पटकका लागि एकमुष्ट सभामुखलाई रु ४० हजार र अन्यलाई रु ३५ हजारका दरले रकम उपलब्ध गराइनेछ । प्रदेशसभा सदस्य र सत्ता पक्षको सचेतक र विपक्षी दलका सचेतकबाहेक सबैलाई एक÷एक वटा गाडी, सभामुखलाई मासिक १२५ लिटर र विपक्षी दलको नेता, उपसभामुख, सत्तापक्षका प्रमुख सचेतकलाई मासिक १०० लिटरका दरले इन्धन सुविधा दिने प्रस्ताव गरिएको छ ।

विधेयकमा पदाधिकारी तथा सदस्यलाई मासिक रु एक हजार ५०० सञ्चार सुविधा प्रस्ताव गरिएको छ । सभामुख, विपक्षी दलको नेता र उपसभामुखको दैनिक भ्रमण भत्ता रु दुई हजार ५०० र अन्यको रु दुई हजार ३०० भ्रमणभत्ता प्रस्ताव गरिएको छ ।

यस्तै, विदेश भ्रमणमा जाँदा पदाधिकारी तथा सदस्यको दैनिक भ्रमण भत्ता प्रतिदिन २२५ अमेरिकी डलर पाउने प्रस्ताव गरिएको छ ।
रासस