काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनसंख्या नियन्त्रणका लागि तय गरेको लक्ष्य पूरा गर्न सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
विश्व जनसंख्या दिवसका अवसरमा नेपाल परिवार नियोजन संघले गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले परिवार नियोजनका क्षेत्रमा सरकारको लगानी पर्याप्त नभएकाले साझेदार संस्थासँगको सहकार्य आवश्यक भएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले परिवार नियोजनमार्फत जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम थप गरिने बताउनुभयो ।
नेपालको पछिल्लो जनसांख्यिक सर्वेक्षणले बालविवाह र सानै उमेरमा गर्भवतन गर्नेको संख्या उच्च देखिएकाले त्यसको समाधान गर्नु चुनौतीपूर्ण भएको उहाँले बताउनुभयो । सरकारले जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ ।
नेपाल परिवार नियोजन संघका अध्यक्ष छत्रबहादुर गिरीले जनसंख्या नियन्त्रण र व्यवस्थापन गर्न सरकारले प्रतिबद्धतासँगै लगानी पनि बढाउनुपर्ने बताउनुभयो । “हामीले सरकारसँग बजेटको माग गरेका छौँ, आश्वासन आएको छ, अझै प्रभावकारी कार्यक्रम गर्न सकिने विश्वास छ,” उहाँले भन्नुभयो ।
जनसंख्याका मुद्धालाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । यस वर्ष ‘परिवार नियोजन मानव अधिकार’ नाराका साथ विश्वभर यो दिव मनाउन लागिएको छ । विश्वभर बढ्दै गएको जनसंख्याले जीवनयापन, स्रोतसाधनको अभाव तथा रोगब्याधीसँगै जीवनशैलीलाई समेत असर पार्न थालेपछि व्यवस्थित परिवारको कल्पना गर्न थालिएको हो ।
रासस
प्रतिक्रिया