विदुषी योगमाया विश्वविद्यालय स्थापना हुने


काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विदुषी योगमाया विश्वविद्यालय स्थापनाका लागि कानूनी प्रबन्ध भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै मन्त्री तामाङले सो जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले सो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्री तामाङले असोज ३ भित्रै मौलिक हकसम्बन्धी कानून ल्याइसक्ने भन्दै त्यसका लागि तयारी भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री तामाङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई कानूनी सहायता दिने गरी कानूनी व्यवस्था गरिएको बताउनुभयो । उहाँले न्यायालयलाई स्वच्छ र पारदर्शिता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गुठी र भूमि व्यवस्थासम्बन्धी ऐन तयार हुँदै गएकाले गुठीको जग्गाको व्यवस्थापन गरिने विश्वास व्यक्त गर्दै उहाँले पूर्वाधार विकासमा कुनै अप्ठ्यारो नहोस् भन्ने विषयमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । नियम निलम्बन गर्नु राम्रो विषय नभएको भन्दै सरकारले नियमित प्रक्रियाअनुसार विधेयक ल्याएर संसद्ले पर्याप्त छलफल गर्न सकिने अवस्था गर्ने मन्त्री तामाङले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ भने सोही बैठकमा विनियोजन विधेयकमाथिको अन्य मन्त्रालयको छलफल हुनेछ ।
रासस