समृद्धिको सपना पूरा गर्न सुशासन अनिवार्य: वनमन्त्री बस्नेत


काठमाडौँ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिको सपना पूरा गर्न सुशासन अनिवार्य भएको बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘सेती नदी बेसिनको वातावरणीय सवाल र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सुशासनबिना समृद्ध नेपालको कल्पना गर्न नसकिने भन्दै सरकार त्यसका लागि प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “विकासका लागि वातावरणका विभिन्न पक्षलाई संरक्षण गर्दै लाभ लिनुपर्छ, विकासका नाममा विनास मात्र गर्ने काम हुँदैन, सबैको सहकार्यबिना संरक्षणसहितको विकास सम्भव छैन ।’’

काठमाडौँ विश्वविद्यालयका डीन प्रो सुबोध शर्माले विकासका नाममा वातावरण र जैविक विविधता मासिँदै गएको बताउनुभयो । उहाँले ‘सेती गण्डकीः जैविकि विविधता र जलाधर स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँर्दै सेती नदीमा फोहरमैला विर्सजन गर्ने, बाँध बनाएर जथाभावी पानीको प्रयोग, नदीजन्य उत्खनन गर्ने लगायतका कार्य बढ्दा पानीमा रहेका अतिसंवेदनशील जीवजन्तु नाश भइरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

नेपाल वातावरण पत्रकार समूहका महासचिव रमेश भुसालले पछिल्लो ४० वर्षमा नेपालले बाटो र जलविद्युत्को विकासमा मात्र जोड दिएको तर योजनाबद्ध बनाएर लैजान नसकेको टिप्पणी गर्नुभयो । उहाँले करिब चार दशकको अवधिमा बनेको ५८ हजार किलोमिटर सडकमध्ये ७४ दशमलब २५ प्रतिशत सडक खनेर मात्र छाडिएको, २२ दशमलब २५ प्रतिशत सडक ग्राभिल गरिएको र तीन दशमलब पाँच प्रतिशत सडक मात्र कालोपत्र गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले अहिले पर्यटकीय गन्तव्य बनिरहेका ठाउँमा पनि जथाभावी उत्खनन गर्ने, भौतिक संरचना निर्माण गर्ने, वन मास्ने तर रूख नरोप्नेजस्ता कार्य वातावरणको स्वरुप बिग्रँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
रासस