दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई

0
Shares

पोखरा ।
प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारवाट स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार अग्रज पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष झालाई उक्त सम्मान प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले गरेको सिफारिशलाई महासंघ कास्की शाखाको आजको बैठकले अनुमोदन गरेको हो । ताम्रपत्र, दोसल्ला तथा नगद ३३ हजार ३३३ बाट झालाई सम्मान गरिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

लहान नगरपालिका–१४ सिरहामा जन्मेका झाले २०४४ मा जनकपुरबाट प्रकाशित जनआकांक्षा साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभएको थियो । विसं २०६५ देखि ०६८ सम्म नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका झा हाल स्वतन्त्र पत्रकारका रुपमा गोर्खापत्र दैनिक लगायतका मिडियाहरुमा स्तम्भ लेख्दै आउनुभएको छ ।

त्यसैगरी बैठकले अस्वस्थ भई उपचारका क्रममा रहनुभएको शाखाका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङ तथा सचिव नवराज सुवेदीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
रासस