प्लेयर्स टु वाचः फिलिपे कौटिन्हो


(ब्राजिल)
जारी विश्वकपमा नेयमारको छायाँमा परेका खेलाडी हुन्– फिलिपे कौटिन्हो। ब्राजिलले क्वार्टरफाइनलसम्म यात्रा गर्दा उनले आफ्नो टोलीका लागि २ गोल गरिसकेका छन्। स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट खेल्ने २६ वर्षीय कौटिन्हो अट्याकिङ मिडफिल्डर र विन्गरको भूमिका निभाउन सिपालु छन्।

सन् २००९ बाट ब्राजिलको क्लब भास्को दी गामाबाट फुटबल करियरको शुरुआत गरेका उनी इन्टर मिलान, इस्पान्योल, लिभरपुल हुँदै बार्सिलोना पुगेका हुन्। गत सिजन बार्सिलोनाबाट १८ खेलमा ८ गोल उनले आफ्नो नाममा लेखाएका थिए। यस्तै ब्राजिलको राष्ट्रिय टिममा सन् २०१० देखि सम्मिलित उनले ४० म्याचमा १२ गोल गरिसकेका छन्। जारी विश्वकपमा उनको पासमा नेयमार र पौलिन्होले गोल गरिसकेका छन्। उनले बेल्जियमविरुद्ध हुने क्वार्टरफाइनलमा पनि अग्रपंक्तिमा नेयमारलाई सघाउने छन्।