प्रहरी महानिरीक्षक खनालद्वारा दज्र्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षक, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका २ जना, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका ४ जना, प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नती भएका ५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका १४ जना र प्राविधिक प्रहरी निरीक्षकमा पदोन्नती भएका ६ जना प्रहरी अधिकृतहरु समेत ३१ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

पदोन्नती भएका मध्ये प्राविधिक प्रहरी नायब उपरीक्षक २ जना हाल संयुक्त राष्ट्र संघीय मिसनमा र १ जना प्राविधिक प्रहरी नायब उपरीक्षक अध्ययन बिदामा रहनुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिनुभयो ।

संगठनको उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राविधिक प्रहरी कर्मचारीहरुमा संगठनप्रति थप जिम्मेवारी रहेको चर्चा गर्नुभयो । प्रहरी कर्मचारीले सम्पादन गरेको काम, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने समेत उहाँले बताउनुभयो ।

नेपाल प्रहरीमा प्राविधिकको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले व्यावसायिक रुपमा निर्भिक, इमान्दार, कर्तव्यनिष्ठ भई खुसीसाथ काम गर्न निर्देशन दिनुभयो ।