काठमाडौ,(नेस) । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।
विनियोजन विधेयक, २०७५ लाई पारित गर्नुपूर्व सांसदहरुले विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित रकममाथि राखेका २१ वटा खर्च कटौतीको प्रस्तावहरुलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
त्यस्तै बैठकले ‘आर्थिक विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ तथा ‘ऋण तथा जमानत (बाईसौं संशोधन) विधेयक,२०७५’ लाई स्वीकृत समेत गरेको छ । बैठकमा उक्त ३ वटा विधेयकहरुमाथि विचार गरियोस् भनी अर्थमन्त्री डा. खतिवडाले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । तीनवटै विधेयकहरुलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५’ तथा ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ ।
दुई विधेयकहरुलाई पारित गरियोस् कानूनमन्त्री शेरबहादुर तामाङले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बिहीबार संसदमा प्रस्तुत दुवै विधेयकहरुमाथि सदनमा दफावार छलफल भएको थियो, संशोधनहरुलाई बैठकको बहुमतले अस्वीकृत समेत गरेको थियो ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयको सन्दर्भमा मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएको थियो ।
जेठ ३० गतेबाट संसदमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल गरेको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम शुक्रबार नै सकिएको थियो । सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७५÷०७६ को वजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभाको बैठक आईतबार बिहान ११ बजे बस्ने छ ।











प्रतिक्रिया