म्याच प्रिभ्यु: पोर्चुगलविरुद्ध उरुग्वे


रसियामा जारी विश्वकप अन्तर्गत शनिबार हुने अन्तिम १६ को दोस्रो खेलमा समूह ए विजेता उरुग्वे र समूह बी को उपविजेता पोर्चुगल सोचीस्थित फिष्ट ओलम्पिक स्टेडियममा आमने सामने हुँदैछ । जारी विश्वकपमा उरुग्वेले समूह चरणमा एक गोल पनि नबेहोरी ३ वटै खेलमा शतप्रतिशत जितसहित अन्तिम १६ को यात्रा तय गरेको हो ।

 

यसक्रममा आयोजक रसियालाई समेत ३–० गोलअन्तरले पराजित गरेको थियो । अर्कोतिर पोर्चुगलको अन्तिम १६ यात्रा भने सहज भएन । एक खेलमा जित र २ खेलमा बराबरीको नतिजा आत्मसात गर्दै पोर्चुगल अन्तिम १६ मा पुगेको हो । त्यसक्रममा पोर्चुगलले ४ गोल गर्दा विपक्षीबाट पनि ४ गोल नै बहोरेका थिए । रसियाविरुद्धको खेलमा आक्रमणमा केन्द्रित गर्न रणनीति बदलेका उरुग्वेले ३–० को राम्रो नतिजा समेत निकालेको थियो । तर पोर्चुगलविरुद्ध भने आफ्नो पारम्परिक रणनीति ४–४–२ मा नै उरुग्वे उत्रने प्रबल सम्भावना रहेको छ ।

 

पोर्चुगलविरुद्धको खेलमा यदि तिघ्राको चोटका कारण जोसे मारिया गिमानेज नदेखिएमा उनको स्थान सेन्टर ब्याक सेबेस्टियन कोट्सले सम्भाल्ने छन् । उरुग्वे विशेषतः लुइस स्वारेज, एडिन्सन काभानी र डिएगो गोडिनको प्रदर्शनमा निर्भर हुनेछ ।

 

यता ४–४–२ कै रणनीति रहेको पोर्चुगल भने स्ट्राईकर क्रिस्टियानो रोनाल्डो, विन्गर रिकार्डो क्वेरेज्मा र सेन्टरब्याक जोसे फोन्टेमा बढी निर्भर हुनेछ । पोर्चुगलका गोलरक्षक रुई प्यट्रीसियोसहित डिफेन्डर सेड्रिक, पेपे, फोन्टे र गुरेरोलाई उरुग्वेका मिडफील्डरहरु नान्देज, भेसिनो, रोड्रिगो र रोड्रिग्वेज सहित फरवार्ड लुइस स्वारेज र एडिन्सन काभानीको अग्रपंक्तिले सताउन सक्नेछ ।

 

यस्तै गोलरक्षक फर्नान्डो मुस्लेरासहित उरुग्वेका डिफेन्डरहरु भर्सेला, गिमीनेज, गोडिन र मार्टिनको रक्षापंक्तिलाई पोर्चुगलका मिडफील्डरहरु क्वोरेज्मा, मौटिन्हो, कार्भाल्हो र मारियो सहित फरवार्ड रोनाल्डो र गोन्कालोले अग्निपरीक्षा लिनेछ ।

हेड टू हेड
यी दुईले अहिलेसम्म २ पटक मात्र एकअर्काविरुद्ध खेलेका छन् । जसमध्ये एक खेल पोर्चुगलले जित्दा अर्को खेल बराबरीमा टुङ्गिएको छ । यसक्रममा पोर्चुगलले ४ गोल गर्दा उरुग्वेले एक गोल मात्र फर्काएको छ । विश्वकपमा भने यी दुईबीच अहिलेसम्म भिडन्त भएको छैन ।