इंग्ल्यान्ड कोलम्बियासँग खेल्ने


मस्को, (एजेन्सी)
विश्वकपअन्तर्गत समूह जी को आफनो अन्तिम खेलमा बेल्जियमले इंग्ल्यान्डलाई १–० ले हराएको छ । बिहीबार राति भएको खेलमा अदनान जानुजाजले ५१ औं मिनेट गरेको गोल नै बेल्जियमलाई जित दिलाउन पर्याप्त भयो । यो जितसँगै शतप्रतिशत नतिजाका साथ बेल्जियम समूह विजेता बन्यो । एक हारले इंग्ल्यान्ड उपविजेतामा रह्यो । बेल्जियमले अन्तिम १६ मा जापानसँग र इंग्ल्यान्डको सामना कोलम्बियासँग हुनेछ ।

कोलम्बियासँग हुने खेल इंग्ल्यान्डको दशककै सबैभन्दा ठूलो नकआउट खेल रहेको इंग्ल्यान्डका मेनेजर गेरेथ साउथगेटले बताएका छन् । साउथगेटले बताए—सनसनी नकआउट खेलका लागि हामी तयारी गरिरहेका छौ । हाम्रो लक्ष्य भनेको समूह चरण पार गर्नु हो र हामीले ग¥यौं ।
समूह चरणमा इंग्ल्यान्डले ट्युनिसियालाई ह्यारी केनको अन्तिममा भएको गोलले हराएको थियो । तर नवप्रवेशी टोली पानामाविरुद्ध केनले ह्याट्रिक गर्दा सो खेल ६–१ ले जितेको थियो । यी दुई टोलीलाई हराएपछि साउथगेटको टोली र बेल्जियम अन्तिम १६ मा पुगे ।

यदि कोलम्बियालाई हराएमा इंग्ल्यान्डको प्रतिस्पर्धा क्वाटरफाइनलमा स्विडेन वा स्विट्जरल्यान्डसँग हुनेछ । साउथगेटले भने—बेल्जियमविरुद्ध प्रमुख खेलाडीलाई आराम दिए । उनीहरुले कोलम्बियाविरुद्ध राम्रो खेल्ने आशा गर्छु । हामी अन्तिम सेकेण्डसम्म विपक्षीलाई दवाव दिइरहनेछु ।

साउथगेटले प्रतियोगितामा ५ गोल गरेका कप्तान केनलाई समेत बेल्जियमविरुद्धको खेलका लागि बेन्चमा राखेका थिए । उनले बीबीसीलाई बताए—उनी सानदार छन् । उनको प्राथमिकता हाम्रो जस्तै टीम पहिला हो । यदि हामी ह्यारी केनलाई ५० मिनेटको लागि खेलाएमा हामी मुर्ख बन्नेछौ । उनी विश्वस्तरिय स्ट्राइकर हुन् । हामी उनलाई कोलम्बियाका लागि तयार गरेका छौ ।