म्याच प्रिभ्यु: अर्जेन्टिनाविरुद्ध फ्रान्स


जारी फिफा विश्वकप अन्तर्गत शनिबार अन्तिम १६ को पहिलो खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । दुई पटकका विश्वकप विजेता अर्जेन्टिना र फ्रान्सबीच कजान एरिनामा खेल हुनेछ । फ्रान्स समूह सी को समूह विजेता हो भने अर्जेन्टिनाले समूह डी को उपविजेता बन्दै अन्तिम १६ मा भिडन्त पक्का गरेको हो । फ्रेन्च प्रशिक्षक डिडियर डेसच्यामप्सले आफ्ना प्रमुख खेलाडीलाई डेनमार्कविरुद्धको खेलमा आराम गराएका थिए ।

उनले पेरूविरुद्ध समूहको दोस्रो खेलका सुरुवाती ११ लाई अर्जेन्टिनाविरुद्ध खेलाउने प्रबल सम्भावना रहेको छ । जसअन्तर्गत ह्यूगो लोरिस, बेन्जामिन पाभार्ड, सामुएल उम्टीटी, पाउल पोग्बा, ब्लैसे माटुईडी र क्लियन बाप्पेले सुरुवाती ११ मा स्थान पाउनेछ

 

अर्जेन्टिनाविरुद्ध फ्रान्सले मुख्यतः फरवार्डद्वय एन्टोइन ग्रिज्म्यान र क्लियन बाप्पे तथा मिडफील्डर पाउल पोग्बाको प्रदर्शनबाट प्रभाव पार्न सक्नेछ । फ्रान्सले पछिल्ला ७ खेलमा ५ मा जित तथा दुई बराबरीको नतिजा निकालेको छ । यता अर्जेन्टिनाले भने अन्तिम १६ मा पुग्नका लागि निक्कै संघर्ष गर्नु परेको थियो । समूहको पहिलो खेलमा आइसल्याण्डविरुद्ध १–१ गोलको बराबरी र क्रोएसियासँग ३–० को फराकिलो गोलअन्तरको हारपछि अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना भाग्यमा निर्भर बनेको थियो ।

 

तर नाइजेरियालाई २–१ ले हराउन सम्पूर्ण शक्ति खर्चेर अन्ततः अर्जेन्टिना नकआउट चरणमा स्थान बनाउन सफल भयो । फ्रान्सविरुद्ध हुने अन्तिम १६ को खेलमा भने अर्जेन्टिनाले डिफेन्समा सुधार गर्नुपर्ने देखिन्छ । विशेषगरी म्यानचेस्टर सिटीका अर्जेन्टिनी सेन्टरब्याक निकोलस ओटेमेन्दी चुस्त हुनुपर्ने देखिन्छ । यस्तै अग्रपंक्तिमा पनि लियोनेल मेसीलाई कभर गर्न फरवार्डद्वय सर्जियो अगुएरो र गोन्जालो हिग्वेन चनाखो हुनुपर्ने छ ।

अर्जेन्टिनाविरुद्ध फ्रान्सले ४–२–३–१ को रणनीति अपनाउने सम्भावना छ । यता अर्जेन्टिनाले भने ४–३–३ को रणनीतिमा खेल्ने सम्भावना रहेको छ । जसअन्तर्गत फ्रान्सले सुरुवाती ११ मा फरवार्ड ओलिभर गिरौदलाई आक्रमणको जिम्मा दिन सक्नेछ । जसलाई आक्रामक मिडफील्डरहरु क्लियन बाप्पे, ऐन्टोइन ग्रीजम्यान, ब्लेसे माटुईडीले साथ दिनेछ ।

 

तिनिहरुको आक्रमणलाई झेल्न अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानी र डिफेन्डरहरु गाब्रिएल मर्काडो, निकोलस ओटेमेन्डी, मार्कोस रोजो र निकोलस टाग्लियाफिलाई हम्मे हम्मे पर्न सक्छ । यता अर्जेन्टिनाको आक्रामक मिडफील्डरहरु इभर बेनेगा, जेभियर मेसेरानो, म्याक्समिलियानो मेजाको सहयोगमा फरवार्डहरु सर्जियो अगुएरो, लियोनेल मेसी र गोन्जालो हिग्वेनले पनि फ्रान्सको गोलरक्षक ह्यूगो लोरिससहित बेन्जामिन, भराने, उम्टीटी र हर्नान्डेजसहितको डिफेन्सको अग्निपरीक्षा लिने सम्भावना छ ।

यस्तै फ्रेन्च टिमको डिफेन्सिभ मिडफील्डरहरु पाउल पोग्बा र एन्गोलो कान्तेले भने अर्जेन्टिनाको आक्रमणलाई रोक्नु बाहेक ओभरल्यापमा गएर अग्रपंक्तिका खेलाडीलाई समेत सहयोग गर्न सक्नेछ ।

हेड टू हेड:
फ्रान्स र अर्जेन्टिनाले एक अर्काबीच अहिलेसम्म ११ पटक खेलेका छन् । जसमध्ये ६ पटक अर्जेन्टिनाले जित्दा फ्रान्स ३ पटक मात्र विजयी भएको छ । यसक्रममा अर्जेन्टिनाले १२ गोल गरेका छन् भने फ्रान्सले ५ गोल मात्र गरेको छ । यी दुईले पछिल्लो पटक सन् १९७८ को विश्वकपमा खेलेका थिए । जसमा अर्जेन्टिना २–१ ले विजयी बनेको थियो । पछिल्लो पटक फ्रान्सको मार्सेमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फ्रान्सलाई २–० ले हराउँदा एक गोलमा लियोनेल मेसीले नाम लेखाएका थिए ।