अफ्रिकाको लागि तीतो विश्वकप


मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपअन्तर्गत समूह जी को अन्तिम खेलमा ट्युनिसियाले पानामालाई २–१ ले हराएर पहिलो जित हात पारेको छ । तर यो जितले ट्युनिसियालाई अर्को चरणमा पुग्ने भन्दा पनि घर फर्काएको छ । किनभने यसअघि टोलीले दुई खेल हारेको थियो । बिहीबार नै यसअघि समूह एच को खेलमा सेनेगल दुई पहेँलो कार्ड बढी आत्मसात गर्दा प्रतियोगिताबाट बाहिरियो । यसले जारी विश्वकप अफ्रिकी राष्ट्रका लागि तीतो स्वाद भएको छ ।

पाँच अफ्रिकी टोली यस विश्वकपमा छनोट भएका हुन् । जसमा मोरोक्को, इजिप्ट, नाइजेरिया, सेनेगल र ट्युनिसिया रहेका छन् । यी पाँचै टोली घर फर्किसकेका छन् । विश्वकपमा कुनै पनि अफ्रिकी टोली समूह चरण पार गर्न नसकेको ३६ वर्षपछि पहिलो पटक हो । यसअघि अफ्रिकी महादेसले १९८२ विश्वकपमा यस्तो नमीठो क्षण बेहोरेको थियो ।

मोरोक्कोले समूहमा अन्तिम खेलमा स्पेनसँग २–२ बराबरी खेलेर अंकविहीन हुनबाट बच्यो भने मोहम्मद सालाह सम्मिलित टोली इजिप्टले तीनै खेल हारेको थियो । नाइजेरिया अन्तिम खेलमा अर्जेन्टिनासँग २–१ ले हारेर प्रतियोगिताबाट बाहिरियो । जबकी ८५ औं मिनेटसम्म नाइजेरिया अन्तिम १६ पुग्ने स्थितिमा थियो । मार्कस रोजोको ८६ औं मिनेटमा भएको गोलले नाइजेरियालाई घर फर्कायो।

यस्तै सेनेगलको मामिलामा विश्वकप इतिहासमा पहिलो पटक घटना भएको छ । कोलम्बियासँग १–० ले हारेपछि अंक, गोलभिन्नतामा जापानसँग टाइ भएपछि फेयर प्लेमा सेनेगलले मात खायो । जापानले ४ पहेँलो कार्ड आत्मसात गर्दा सेनेगलले दुई बढी पहेँलो कार्ड बेहोर्नु घर फर्काउन पर्याप्त भयो ।

रुसको विश्वकपको तथ्यांक हेर्दा अफ्रिकी टोलीले १५ खेल खेलेकोमा जम्मा तीन खेल मात्रै जितेको छ । जबकी १० खेल हा¥यो र २ खेल बराबरीमा समाप्त भएको छ । तीन जितमा नाइजेरियाले आइसल्यान्डलाई, सेनेगलले पोल्यान्डलाई र ट्युनिसियाले पानामालाई हराएका थिए

आइभोरी कोस्टका पूर्व राष्ट्रिय खेलाडी डिडियर ड्रोग्बाले ज्यादै निरस नतिजा निस्केको बताए। उनले भने—यो अफ्रिकी महादेसको लागि खराब विश्वकप सावित भयो । यसले धेरै पछाडि पारेको छ । अर्को विश्वकपमा राम्रो गर्नु पर्ने भएको छ । यसको लागि पैसा चाहियो ।