प्लेयर्स टू वाच: लियोनेल मेसी (अर्जेन्टिना)


लियोनेल मेसी (अर्जेन्टिना)
अवश्य नै आज पनि लियोनेल मेसी नै प्लेयर्स टू वाच को हकदार हुनेछ । मेसीले जारी विश्वकपमा गोलको खाता खोलिसकेका छन् । आफ्नो टिमलाई अन्तिम १६ मा स्थान बनाउन नाइजेरियाविरुद्को खेलमा उनले उत्कृष्ट गोल एक गरेका हुन् । यसै कारण फ्रान्सविरुद्ध पनि अर्जेन्टिनाको कप्तानका रुपमा उनको भूमिका प्रमुख बन्नेछ । हुनत त उनले समूहको पहिलो खेलमा पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन । जसका कारण समूहमा कमजोर मानिएको आइसल्याण्डसँग अंक बांड्नु परेको थियो ।

समूहको दोस्रो खेलमा पनि मेसीले क्रोएसियाविरुद्ध खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएन । समूहको अन्तिम खेलमा भने नाइजेरियाविरुद्ध गोल गरेपछि उनले लयमा फर्किएको झल्को देखाएका छन् । अहिले अर्जेन्टिनी टिमको संरचनालाई हेर्ने हो भने यो टिम मेसीमा बढी निर्भर भएको देखिन्छ । समान ५/५ पटकका फिफा वर्ष र बालोन डे ओर अवार्ड विजेता मेसीले फ्रान्सविरुद्ध जादुई प्रदर्शन गर्न जरुरी छ ।

क्लबस्तरमा मात्र चम्किएको मेसीले राष्ट्रका लागि पनि आफ्नो नाम अनुसारको उत्कृष्ट प्रदर्शन गर्न सकेमा विश्वकपमा पनि छुट्टै पहिचान बनाउन सक्छन् । मेसीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । यस क्रममा उनले राष्ट्रिय टिमका लागि १ सय २५ म्याचमा ६५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ता समेत हुन् ।