नकआउट चरणमा नयाँ बल


मस्को, (एजेन्सी)
फिफाले शनिबारदेखि शुरू हुने नकआउट चरणको खेलदेखि नयाँ बल खेलाउने भएको छ।

विश्वकप समूह चरणका खेलमा खेलाइएको बल नकआउट चरणमा फेरिने फिफाले उल्लेख गरेको हो। नयाँ बल आगामी शनिबार साँझ ७ः४५ बजे हुने फ्रान्स र अर्जेन्टिनाबीचको नकआउट चरणको खेलमा पहिलो पटक प्रयोग हुनेछ।

अहिले समूह चरणका खेलमा कालो र सेतो रंग रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भइरहेको छ। यस्तो ‘क्लासिक’ बल ४८ वर्षपछि विश्वकपमा प्रयोग हुँदै आएको छ। अब नकआउट चरणका खेलमा टेलस्टार मिच्टा बल प्रयोग हुने फिफाले जनाएको छ। यो बल पनि एडिडासले नै बनाएको हो।

नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रंगको डिजाइन मिसिएको छ। यो रंग रुसको आधिकारिक रंगबाट प्रभावित भएको जनाइएको छ। यस्तै त्यसपछिका अर्को चरणमा खेलाइने बलमा पनि अर्कै रंगको हुने जनाइएको छ। बलको रंगले नकआउट चरणमा बढ्दै गएको खेलको गर्मीलाई पनि संकेत गर्ने उल्लेख छ। रुसी भाषामा मिच्टाको अर्थ सपना भन्ने हुन्छ। विश्वकपमा खेलिने बल एडिडासले नै बनाउँदै आएको छ।