दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
आदिवासी जनजाति चलचित्र महासंघले गत वर्षदखि आरम्भ गरेको आदिवासी जनजाति चलचित्र महोत्सवको दोश्रो संस्करण यही असार १५गते शुरु हुने भएको छ । यो वर्ष आदिवासी जनजाति चलचित्रको उत्थान तथा विकासका लागि आदिवासी जनजाति चलचित्र नारा सहित यो महोत्सव हुने भएको छ ।

बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि देखि १७ गतेसम्म तीन दिन काठमाडौको भृकुटीमण्डपस्थित पर्यटन वोर्डमा हुने कुरा सोबारे आयोजित प्रेसमिटमा जानकारी गराएको छ ।

सो प्रेस मिटमा जानकारी गराइए अनुसार यो महोत्सवमा सहभागी हुन छानिएका सबै चलचित्रलाई प्रति चलचित्र पाँच हजार रुपिंया नगद प्रदान गरीनेछ भने महोत्सव भरीमा प्रदर्शन भएका चलचित्र मध्ये एक चलचित्रलाई पच्चीस हजार नगद सहितको पब्लिक च्वइस अवार्ड प्रदान गरीने भएको छ ।

प्रथम आदिवासी जनजाति चलचित्र “सिलु” निर्माण भएदेखि हालसम्म छ÷सात सयभन्दा बढी संख्यामा आदिवासी जनजाति कथानक चलचित्र निर्माण भइसकेको पनि महासंघले जनाएको छ । आदिवासी जनजाति चलचित्र महोत्सवमा गुरुङ भाषाको मैरिमो, माझीको लदी पूजा, शेर्पाको टिन्छेन फमा, राजवंशीको दुलारी, राईको ‘ढवाङ्गकुम’, सुनुवारको ‘गो सु नङ्गा’, थारुको ‘टुटल जिन्गी’ र ‘मन्दरा’, गुरुङको ‘पा’, मगरको ‘रैयाँ’ र ‘तमसुक’, तामाङको ‘मायासे लासी ३’ तथा नेपाल भाषाको ‘कमल पोखरी’ र ‘तापलय’ गरी १४ वटा चलचित्र प्रदर्शन हुने कुरा महासंघका अध्यक्ष अमृतबहादुर सुनवारले जानकारी गराए ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार, महासंघका महासचिव पुर्खाजित राई, महासंघका संस्थापक उपाध्यक्ष एवं आदिबासी जनजाति मातृभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेवाः फिल्म सोसाइटीका महासचिव विराजकाजी राजोपाध्याय लगायतले महोत्सवको आवश्यकता र यसको महत्वका बारेमा विविध पक्षका विषयमा जानकारी दिएका थिए ।