सहुलियत उपचारका लागि सम्झौता


काठमाडौं, (नेस)
खेलाडी, प्रशिक्षक र खेलकुद कर्मचारीका साथै उनीहरुको परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत दिने सम्बन्धमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ र ललितपुरको निदान अस्पतालबीच मंगलबार सम्झौता भएको छ ।

संघका अध्यक्ष महेश महर्जन र निदानका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । ४ वर्षका लागि भएको सम्झौता मंगलबारैदेखि लागू हुनेछ ।

अस्पताले ओपिडी सेवामा १५, ल्याब टेस्टमा २०, बेड चार्जमा २५, अल्ट्रासाउन्डमा २०, फिजियोथेरापीमा १०, इन्डोस्कीमा १५, औषधिमा १०, ईसिजीमा २५, इकोमा २०, कोलोनोस्कोपीमा २० र डेन्टलमा १० प्रतिशत छुट दिने सहमति गरेको छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धितले खेलाडी तथा प्रशिक्षक संघको सिफारिस लानु पर्नेछ ।

त्यस्तै निदानमा उपलब्ध नहुने सुविधाका लागि भारतमा उपचार गर्न जानु पर्ने भएमा ५ देखि १० प्रतिशतसम्मको छुटको व्यवस्था गर्ने समझदारी समेत भएको छ ।