म्याच प्रिभ्यू: जर्मनी गर या मर को स्थितिमा, मेक्सिकोविरुद्ध स्वीडेन


जारी विश्वकपको समूह एफ अन्तर्गत बुधबार हुने तेस्रो चरणको खेलमा जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछ । समूह चरणको पछिल्ला दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण कोरियालाई खासै महत्वपूर्ण नभएको यो खेल जर्मनीको लागि “गर या मर” को अवस्थामा रहेको छ ।

अन्तिम १६ पुग्न जर्मनीका लागि यो निर्णायक खेल समेत हो । पहिलो खेलमा मेक्सिकोसँग १–० ले हारेपछि वर्तमान विश्वविजेता जर्मनी टोली संकटमा परेको थियो । तर दोस्रो खेलमा स्वीडेनविरुद्ध अन्तिम क्षणमा २–१ को जित निकाल्दै जर्मनीले अन्तिम १६ पुग्ने आशालाई जीवितै राख्यो । स्वीडेनविरुद्धको जितपछि ३ अंक जोडेको जर्मनीका लागि दक्षिण कोरियाविरुद्धको खेलमा महत्वपूर्ण ३ अंक सहित फराकिलो गोल अन्तरको आवश्यकता रहेको छ ।

अन्तिम १६ पुग्नका लागि यो समूहमा स्वीडेन, मेक्सिको र जर्मनीको उत्तिक्कै सम्भावना रहेको छ । यो समूहमा २ खेल जितेर ६ अंक सहित शीर्ष स्थानमा रहेको मेक्सिकोलाई समेत ढुक्क भएर बस्ने अवस्था छैन । यदि जर्मनी र स्वीडेनले आ–आफ्नो खेल समान २–० ले जितेमा मेक्सिको र दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिने सूचीमा पर्न सक्नेछन् ।

तुलनात्मक रुपमा स्वीडेनले भन्दा जर्मनीले फराकिलो अन्तरको जितको नतिजा निकाल्ने सम्भावना छ । दक्षिण कोरियाविरुद्ध फराकिलो गोल अन्तरको जितका लागि जर्मनीको सम्भावित रणनीति ४–२–३–१ हुनेछ । यस्तै प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्ने दक्षिण कोरियाको सम्भावित रणनीति ४–४–२ हुनेछ ।

रणनीति अनुसार जर्मनीका फरवार्ड टिमो वेर्नर र अट्याकिंग मिडफील्डरहरु थोमस मुलर, मार्को रिउस र मारियो गोमेजले दक्षिण कोरियाका गोलरक्षक चो ह्यून वो लगायत डिफेन्डरहरु ली योन्ग, किम योन्ग ग्वन, जान्ग हयुन सु र किम मन वू को अग्नि परीक्षा लिनेछ ।
यस्तै डिफेन्सिभ मिडफील्डरहरु गुन्डोगान र टोनी क्रुसले पनि जर्मनीको अग्रपंक्तिमा ओभरल्याप गरेर स्ट्राइकर र अट्याकिंग मिडफील्डरलाई सहयोग गर्नेछ ।

जसलाई नियन्त्रण गर्न कोरियाका फरवार्ड पनि पछि हट्न सक्नेछ । यसैगरी कोरियाली फरवार्डहरु सन हिउन्ग मिन्ग र ह्वान्ग हि चानले पनि बेला बेला काउन्टर अट्याकमार्फत् जर्मनीका गोलरक्षक मानुएल नियुर सहित डिफेन्डरहरु किम्मीच, रुढिगर, हम्मेल्स र हेक्टरलाई टाउको दुखाउन सक्नेछ ।

हेड टू हेड
यी दुई राष्ट्रले एक अर्काविरुद्ध ३ पटक खेलेका छन् । जसमा जर्मनीले २ पटक तथा दक्षिण कोरियाले एक पटक जित आफ्नो पक्षमा पारेका छन् । यस क्रममा जर्मनीले ५ गोल गर्दा दक्षिण कोरियाले पनि ५ गोल नै फर्काएका छन् । पछिल्लो पटक सन् २००२ को विश्वकपको सेमीफाइनलमा आयोजक दक्षिण कोरियालाई १–० ले हराउँदै जर्मनी फाइनलमा प्रवेश गरेका थिए ।

मेक्सिकोविरुद्ध स्वीडेन
समूह एफ को तेस्रो चरणको खेल अन्तर्गत मेक्सिको र स्वीडेनले अन्तिम १६ का लागि बुधबारै प्रतिस्पर्धा गर्दैछ । अन्तिम १६ पुग्नका लागि तुलनात्मक रुपमा मेक्सिकोलाई भन्दा स्वीडेनलाई दवाब बढेको अवस्था छ । यस समूहको पछिल्ला दुई खेलबाट मेक्सिकोले शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेका छन् ।

तर स्वीडेनसँग भने एक जित र एक हारसँगै ३ अंक रहेको छ । जसका कारण स्वीडेनलाई जितको विकल्प छैन भने मेक्सिकोलाई बराबरीको नतीजा पनि अन्तिम १६ पुग्न पर्याप्त हुनेछ । तर स्वीडेनसँग २–० ले पराजित भएमा भने मेक्सिको संकटमा पर्न सक्नेछ ।

यसै समूहमा दक्षिण कोरिया र जर्मनीबीच हुने खेलको नतीजाले स्वीडेन र मेक्सिकोको भविष्य निर्धारण हुनेछ । मेक्सिकोविरुद्धको खेलमा जित आवश्यक रहेकाले स्वीडेनले आक्रामक फुटबल पस्कने निश्चित छ । सो खेलमा स्वीडेन ४–४–२ तथा मेक्सिको ४–२–३–१ को रणनीतिमा मैदानमा उत्रने सम्भावना छ ।

जसअन्तर्गत सुरुवाती ११ मा स्वीडेनका फरवार्डहरु ओला टोइभोनेन र मार्कस बर्ग र मिडफील्डरहरु भिक्टोर, लारस्सनर, एकडल र फोर्सबर्गले मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचाओ सहित डिफेन्डरहरु अल्भारेज, साल्सेडो, मोरेनो र गलार्डोलाई ब्यस्त पार्न सक्नेछ ।

मेक्सिकोको रक्षापंक्तिलाई थप मजबुत गर्न डिफेन्सिभ मिडफील्डरद्वय गुआर्दार्दो र हेरेराले पनि थप सहयोग गर्न सक्नेछ । यता जर्मनीको डिफेन्सलाई तोड्न सफल मेक्सिकोका अग्रपंक्तिमा सम्मिलित फरवार्ड हेभिएर हर्नान्डेजसहित अट्याकिंग मिडफील्डरहरु मिगेल, कार्लोस र लोजानोले स्वीडेनको रक्षापंक्तिका लुस्टिग, लिन्डेलोफ, आन्द्रेस, अगस्टिन्सन सहित गोलरक्षक रोबिन ओल्सेनको क्षमता जाँच्न सक्नेछ ।

हेड टू हेड 
यी राष्ट्रले एक अर्काबीच ९ पटक खेलेका छन् । जसमध्ये स्वीडेनले ४ पटक र मेक्सिकोले २ पटक जित आफ्नो पक्षमा पार्दा ३ पटक बराबरीमा खेल टुङ्गिएको छ । यसक्रममा स्वीडेनले ८ गोल गर्दा मेक्सिकोले भने ५ गोल मात्र फर्काएका छन् । फिफा विश्वकपमा भने यी दुईले सन् १९५८ मा खेलेका थिए । जसमा स्वीडेन ३–० ले विजयी बनेको थियो ।