मिटर ब्याजी सिंहको ६ थान हतियार प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रहरीले लाइसेन्स प्राप्त हतियारको आडमा गुन्डाराज चलाउँदै आएका मिटर ब्याजी महेशबहादुर सिंहसँग रहेको हतियार खोसेको छ । लाइसेन्स प्राप्त हतियारको आडमा आपराधिक क्रियाकलाप गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट लाइसेन्स रद्द गरी सिंहको हतियार खोसिएको बताइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिंहको साथमा रहेका १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल र ती हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको हो ।

प्रहरीको अनुसार हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम इजाजत लिए पनि सर्त उल्लंघन गरेपछि उनको हतियार रद्द गर्न सफारिस गरिएको थियो । उनको हतियार सरकारी कोषमा दालिखा गरिएको छ ।

हेटौंडा स्थायी घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंह मिटर ब्याज नाइकेको रुपमा चिनिन्छन् । उनको काठमाडौंका विभिन्न क्यासिनोमा समेत लगानी छ । उनले मिटर ब्याजमा लगाएको पैसा सम्बन्धित व्यक्तिले फिर्ता गर्न ढिलो गर्दा लाइसेन्स प्राप्त हतियार देखाएर धम्क्याउने गरेको प्रहरीले जनाएको छ ।