उत्तर कोरिया अझै खतरनाक ः ट्रम्प



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उत्तर कोरियामाथि लगाइँदै आएको नाकाबन्दी नवीकरण गर्दै उत्तर कोरियाको आणविक हातहतियारको असाधारण खतरा कायमै रहेको दाबी गरेका छन्। १० दिनअघि मात्र ट्रम्पले प्योङयाङबाट कुनै खतरा नभएको उल्लेख गरेका थिए।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सिंगापुरमा भेटवार्ता गरेको भोलिपल्ट अर्थात् १३ जुनमा ट्रम्पले ट्विट गर्दै उत्तर कोरियाबाट कुनै आणविक खतरा नरहेको जानकारी दिएका थिए।
अमेरिका र दक्षिण कोरियाबीचको दुईवटा सैनिक तालिम अभ्यास रद्द गरिएपछि ट्रम्पको यो पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कूटनीतिक वार्तालाई बढी प्राथमिकता दिने आफ्नो लक्ष रहेको बताएको थियो।

केही दिनअघि मात्र आगामी अगस्टमा आयोजना हुने भनिएको अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यास रोक्ने निर्णय भएको थियो। ट्रम्पले सिंगापुर वार्ताका दौरान किमलाई अप्रत्यासितरूपमा सो वार्षिक सैनिक अभ्यास रोक्ने वचन दिएका थिए। उत्तर कोरियाले विगतमा यस अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारीका रूपमा लिने गरेको थियो। सिंगापुरमा किमले पनि सो अभ्यास निहुँ खोज्ने खालको र निकै खर्चिलो भएको प्रतिक्रिया दिएका थिए।

यसैबीच किम र ट्रम्पबीचको ऐतिहासिक शिखर वार्ता आयोजना गर्ने सिंगापुरले १ करोड २० लाख अमेरिकी डलर खर्च भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्