पाकिस्तानी तालिवानमा नयाँ नेता नुर वली महसुद नियुक्त, फजुल्लाह मारिएको पुष्टि

0
Shares

इस्लामावाद (एजेन्सी)
पाकिस्तानको प्रतिबन्धित कट्टरपन्थी संगठन तहरिक ए तालिवान पाकिस्तानले आफ्ना नेता मुल्ला फजुल्लाहको अमेरिकी हवाइ आक्रमणमा मृत्यु भएको पुष्टि गर्दै उनको स्थानमा नयाँ नेताको नाम घोषणा गरेको छ।

मुल्ला फजुुल्लाह जुन १३ मा अमेरिकी ड्रोनले प्रहार गरिएको क्षेप्यास्त्र आक्रमणमा मारिएको तालिवानले जनाएको छ। अफगानिस्तान र पाकिस्तानका अधिकारीले मुल्ला फजुल्लाहको मृत्यु भएको दाबी गरेका थिए। शनिबार जारी एक विज्ञप्तिमा अब तालिवानले पनि उनको मृत्युको पुष्टि गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा तालिवानका नेताको परिषद्ले मुफ्ती नुर वली महसुदलाई तहरिक ए तालिवान पाकिस्तानका अमिर र मुफ्ती मजाहम अल मारुफ मुफ्ती हिफुजुल्लाहलाई नायब अमिर नियुक्त गरेको हो।

नुर वली महसुदलाई गतवर्ष खालिद सजनाको मृत्युपछि महसुद क्षेत्रका लडाकूको नेता नियुक्त गरिएको थियो। मुफ्ती नुर वली पूर्वनेता बैतुल्लाह महसुदका निकट मित्र थिए र यसअघि पनि उनले तालिवान समूहमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। ४० वर्षीय मुफ्ती नुर वलीले तालिवानको इतिहासमा एक किताब पनि लेखेका छन्। उक्त किताबबाट कैयौं महत्वपूर्ण जानकारी सार्वजनिक भएको थियो। उनले तालिवानलाई पैसा कहाँबाट आउँछ भन्ने विषयमा खुलासा गरेका थिए।

पाकिस्तानी गुप्तचर एजेन्सीका अनुसार जुन १३ मा मुल्ला फजुल्लाह कुनार प्रान्तमा गरिएको एक आक्रमणमा मारिएका थिए। आक्रमणको समयमा मुल्ला फजुल्लाह इफ्तार पार्टीमा गएका थिय। राति करिब ११ बजे आफ्नो गाडीमा बसेपछि उनीमाथि ड्रोन हमला भएको थियो। उक्त हमलामा ५ जनाको मृत्यु भएको वा नराम्रोसँग जलेका थिए। उनलाई अर्को दिन त्यहीं गाडिएको थियो।

मुफ्ती नुर वलीको जन्म दक्षिणी वजिरीस्तानको तियारजा इलाकामा भएको थियो। उनले फैसलावाद, गुजरावा र कराँचीमा फरक–फरक मदरसा शिक्षा हासिल गरेका थिए। उत्तरी बजिरिस्तानमा पाकिस्तानी सेनाले कारबाही थाल्दा मुफ्ती नुर वलीले पाकिस्तानी सेनाविरुद्ध लडाइँमा भाग लिएका थिए। मुफ्ती नुर वलीले हालैमात्र ६ सय ९० पृष्ठको किताब ‘इन्कलाब महसुव, साउथ बजिरिस्तान– फिरंगी शासनदेखि अमेरिकी साम्राज्यसम्म’ नामको एक विवेचनात्मक किताब लेखेका थिए।

उक्त किताबमा पहिलो पटक पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोमाथि भएको घातक हमला, कराँची र रावलपिन्डीमा भएका हमलाको जिम्मेवारी स्वीकार गरिएको थियो। यस अघिसम्म तालिवान ती हमलामा संलग्नतालाई अस्वीकार गर्दै आएका थिए।

किताबमा सन् २००७ मा दक्षिणी बजिरिस्तानमा भएको हमलामा अपहरण गरिएका कर्मचारी, गाडी र हतियारको बदलामा एक सम्झौताअनुरुप सरकारबाट ६ करोड रुपियाँ पाएको उल्लेख गरिएको छ।