स्वीट्जरल्याण्डद्वारा सर्बिया पराजित


मस्को, (एजेन्सी)
ग्रानित साका र जेर्दान शाकिरीले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा स्वीट्जरल्याण्डले सर्बियालाई पराजित गरेको छ ।

रसिया विश्वकपअन्तर्गत समूह ई अन्तर्गत शुक्रवार भएको उक्त म्याचको पहिलो हाफसम्म १–० ले पछि परेको स्वीट्जरल्याण्डले खेलमा पुनरागमन गर्दै सर्बियामाथि जित हात पारेको हो ।
खेलको पाँचौ मिनेटमै एलेक्जेन्डर मिट्रोभिचले हेडमार्फत गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए। तर स्वीट्जरल्याण्डका तर्फबाट ५२औँ मिनेटमा साकाले बराबरी गोल फर्काएका थिए । यस्तै ९०औं मिनेटमा शाकिरीले निर्णायक गोल गरेपछि जारी विश्वकपमा स्वीजरल्याण्डको पहिलो जित सुनिश्चित बन्यो ।

जितपछि स्वीट्जरल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । यसै समूहमा समान ४ अंक रहेको ब्राजिल भने गोलभिन्नताको आधारमा शीर्ष स्थानमा छ । यी दुवै टोलीले अन्तिम १६ पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो खेलमा कोस्टारिकालाई हराएको सर्बियाको २ खेलबाट ३ अंक छ । अब अन्तिम खेलमा ब्राजिलले सर्बिया तथा स्वीट्जरल्याण्डले कोस्टारिकासँग खेल्नेछ । यस खेलबाट अन्तिम १६ पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । लगातार दुई खेल हारेको कोस्टारिका भने समूह चरणबाटै बाहिरिएको छ ।