फरार प्रतिवादी पक्राउ

0
Shares

म्याग्दी, (नेस)
म्याग्दीको बेनी नगरपालिका–५ का खिमबहादुर दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दी जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एकवर्ष ११ महिना दुईदिन कैद सजायँ हुने ठहर गरी फैसला भएकोमा फरार रहेका दमाइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा बेनीबजारबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तान गर्नका लागि कारागार चलान भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।

यसैगरी रहजनी चोरी मुद्दामा चारवर्ष एक महिना १० दिनको कैद सजायँ सुनाइएका फरार प्रतिवादी बेनपा–५, छापाका सुशील जिसीलाई पनि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । जिसीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्ने तयारी गरेको समेत प्रनाउ बुढामगरको भनाई छ ।

यसअघि पक्राउ परेका रहजनी चोरी मुद्दामा चारवर्ष एक महिना १० दिनको कैद सजायँका भागिदार बेनपा–५, छापाका विपिन खत्रीलाई पनि अदालतको आदेश अनुसार कारागार चलान गरिएको प्रनाउ बुढामगरले बताउनुभयो । प्रहरीले जिल्लामा विभिन्न किसिमका आपराधिक घटनामा संलग्न भई फरार रहेकालाई नियन्त्रणमा लिन विशेष जोड दिएको जनाएको छ ।