खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु


पोखरा, (नेस)
नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको बताइएको छ ।

भलिबल र क्रिकेटका राष्ट्रिय खेलाडी द्वय मञ्जु गुरुङ र करण केसीलाई एक कार्यक्रमका विच पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरुवात गरिएको छ । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ ।

पहिलो चरणमा क्षेत्रिय खेलकुदले यस क्षेत्रका ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गरिने भएको हो । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीको सहयोगमा सबै खेलाडीको बिमा गरिने भएको हो ।