विक्रमलाई दोहोरो स्वर्ण


काठमाडौं, (नेस)
लन्डन र ब्राजिल पारा ओलम्पिकमा सहभागिता जनाएका विक्रमबहादुर रानाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा एथलेटिक्सको पूर्ण दृष्टिविहीनको पुरुषमा शनिबार दोहोरा स्वर्ण जितेका छन् ।
विक्रम २ सय मिटर दौडमा पनि शीर्ष स्थानमा रहे । प्रमोद दाहाल दोश्रो र रुपलाल चौधरी तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा पारा एथलेटिक्स संघको संयोजनमा भएको प्रतियोगिताको सोही स्पर्धाको महिलामा सनिता भट्टराईले स्वर्ण, सावित्री पौडेलले रजत र सरिता अर्यालले कांस्य जिते ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गको छात्र १२–१५ वर्ष ५० मिटर दौडमा डेविड परियार, १६ वर्षमाथि छात्रा सफ्टबल थ्रोमा निता श्रेष्ठ, १६–२१ वर्षको छात्र १ सय मिटर दौडमा अदित वज्राचार्य, आंशिक दृष्टिविहीनको छात्रा सटपुटमा गंगा भुजेल र शारीरिक अपाङ्गको छात्र ज्याभ्लिन थ्रोमा सविन थापाले पहिलो स्थान हात पारे ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी सरादेवी तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । एकदिने प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा, दृष्टिविहीन र सुस्त मनस्थितितर्फ जम्मा ४२ स्पर्धामा ७ प्रदेशका २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।