ओलम्पिक डेमा मेयरकप साइकल दौड


नेपालगन्ज, (नेस)
नेपालगन्ज र प्रथम मेयर कप साइकल दौड प्रतियोगिता (२०७५ नेपालगन्ज साइक्लोथनको उपाधि बिमलेश कुमार यादवले जितेका छन् ।

यादवले निर्धा्रित ३७ किलोमिटर दुरी पुरा गर्ने क्रममा अन्य प्रतियोगीहरुलाई पछि पार्दै नगद रु १५ हजार पनि हात पारे । यसमा सञ्जय सोनकर दोस्रो तथा दीपक मल्ल तेस्रो भए ।

दुवैले क्रमशः १० हजार र पाँच हजार नगद प्राप्त गरे । प्रोफेसनल राइडर्सहरु मात्र सहभागी हुने प्रावधान रहेको ३७ किलोमिटर दुरी महिला तर्फ साया थापाले मात्र पुरा गरिन् । उनलाई प्रशंसापत्र प्रदान गरियो ।

नेपालगन्ज बन कार्यालय अगाडिदेखि सुरु भएको साइक्लोथन कोहलपुर चौराह पुगेर फेरि सोही स्थानमा टुंगिएको थियो । साधारण साइकलतर्फ निर्धा्रित २० किलोमिटर दुरी पुरा गर्नेक्रममा पुरुषतर्फ मनोज धोबी, जंग थारु र सतिस थारु तथा महिलामा पार्वती सार्की , टीका खड्का र ममता गुप्ता ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

उनीहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगदले पुरस्कृत गरियो । ६ किलोमिटर ट्राइसाइकलतर्फ यम ब. खत्री , तेज ब. राना र जंग कामीले शीर्ष तीन स्थान हासिल गरे ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्ज साइक्लिङ क्लबले संयोजन गरेको साइक्लोथनमा १ सय ७५ जना सहभागी थिए । यस प्रतियोगितालाई स्तरोन्नति गर्दै बर्षेनी सञ्चालन गरिने मेयर धवल शम्शेर राणाले प्रतिबद्धता जनाए ।