रोजाइमा भाले


मासुका पारखीले लोकल कुखुरा मन नपराउने कुरै भएन । त्यसमा पनि लोकल भाले, आहा ! भाले त पहिलो नम्बरमै पर्छ । लोकल भनेपछि मरिहत्ते गर्ने अनि भालेका लागि दिल खोलेर खर्च गर्ने नेपाली पारखीको संख्या बाक्लै छ ।

कुखुरा मात्रै होइन शहरमा भाले डनहरुको पनि ठूलै डिमान्ड छ । सहरका धेरै भालेमध्येको एउटा भाले खोरमा थुनिएको छ । लोकल कुखुरा, अन्य रोजाइका खुराक र सोमरस जुटाउन राम्रै पखेटा फिजाउन सक्ने ‘भाले’ बिहीबार खोरमा थुनिएको हो । काठमाडौंको ठमेल क्षेत्रबाट भाले भनिने दिनेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।

सोझै भन्नुपर्दा ठमेलका व्यवसायीलाई धम्क्याएर हप्ता असुली गरेको उजुरीको आधारमा प्रहरीले भाले पक्राउ परेको हो । महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर ऊमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । निकै खाइलाग्दो र हृष्टपुष्ट बनेको भाले राख्ने खोर कस्तो छ, खोरको चाबी को–कोसँग छ, खोर कमजोर छ भने भाले सुटुक्क उम्किने पो हो कि भन्नेबारेमा धरहरालाई निकै खुलदुली जाग्या छ ।

यसअघि हातहतियारसम्बन्धी विषयमा पक्राउ परेको भाले सकुसल मुक्त भएर निधक्क पखेटा फिजाउने भएसी खुलदुली लाग्नु स्वाभाविक हो, भाले अब कहिले उम्किन्छ भन्ने विषयमा धरहरालाई मात्र होइन, पाठकवृन्दलाई पनि उत्तिकै खुलदुली लाग्या हुनुपर्छ ।