दक्षिण एसियाका भाग्यमानी


महेश्वर राउत, स्व.रोशन श्रेष्ठ, रूपकराज शर्मा, स्व.श्याम श्रेष्ठ, स्व.हिरा बज्राचार्य, कमल लामा, जीवन श्रेष्ठ, विश्वजंग गुरुंग, पदम विष्ट, मथुरा राम श्रेष्ठ, गोपालमुकुन्द जोशी, बुद्धिबहादुर गुरुंग, ज्ञानीराजा श्रेष्ठ, श्रीराम रञ्जितकार, सुरेन्द्र सिख्राकार, देवन्द्र विष्ट, दिलीप रजक, श्याम लामा, कैलाश श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, नरेन्द्र बस्नेत, गजेन्द्रमान सिंह, दुर्गा विक, बिनोद केसी, किरण गिरी, मधुसूदन खनाल, श्रीमती कल्पना शर्मा र वीरेन्द्र पाण्डे अहिलेसम्म नेपालका फिफा रेफ्री तथा सहायक रेफ्री हुन् ।

नेपालका फिफा तथा सहायक रेफ्रीहरु दक्षिण एसियामा नै केन्द्रित रहे, कमैले एसियासम्म पुग्ने अवसर पाए भने एसियाबाहिर यिनीहरुले कहिल्यै कल्पनासमेत गरेनन् ।

तर भारतका कोमलेसवारन शंकर एसियाली खेलकूद, ओलम्पिक हुँदै विश्वकपमा पुगेका छन् । ३९ वर्षीय फिफा सहायक रेफ्री शंकर जापान र कोरियामा सञ्चालन हुने विश्वकपका लागि छानिएका दक्षिण एसियाका एक मात्र भाग्यमानी रेफ्री हुन् ।

भारतीय फुटबल संघका सचिव अल्बर्ट कोलाकोले विश्वकपका लागि छानिएका समाचार सुनाउँदा एक पटक शंकरले विश्वास नै गरेनन्, तर फुटबल खेलाडी भएर खेल्दा प्रान्तीय टोलीभन्दा माथि उठ्न नसकेको शंकर यसका लागि योग्य थिए ।

बैंककमा सम्पन्न १३औं एसियाली खेलकूद र सिड्नी ओलम्पिकमा आफ्नो भूमिका निभाएका शंकरले अहिलेसम्म ४२ अन्तर्राष्ट्रीय खेलमा सहायक रेफ्री भएर उभिइसकेका छन् ।

भारतको फुटबल इतिहासमा विश्वकपका लागि छानिने भारतका पहिलो फिफा सहायक रेफ्री भएको शंकरले विरलै मात्र गलत ठाउँमा झन्डा देखाएका छन् । इन्डोनेसियामा सन् २००१ को फेब्रुअरीमा एसियन क्लब च्याम्पियनशिपका लागि उनलाई चुनिनुअगाडि शंकरलाई दुई वर्षअघि मात्र एसियाली फुटबलको सर्वोच्च संस्था एएफसीले उत्कृष्ट सहायक रेफ्रीको अवार्ड पनि प्रदान गरेको थियो ।

शंकरकै जतिको क्षमता नेपाली रेफ्रीहरुमा पनि रहेको छ, तर सम्बन्धित निकायहरुको मौनता नै नेपालको फिफा तथा सहायक रेफ्रीहरुको लागि एसियाबाहिरको मैदान कल्पना कल्पनामै सिमित बनेको थियो ।
(स्रोत:  साधना पूर्णाङ्क: १०१, विश्वकप फुटबल २००२ विशेषांक)