ट्राफिक प्रहरीको रकम असुली प्रकरण: प्रहरी प्रधान कार्यालयद्वारा छानविन प्रक्रिया शुरु


 

 

प्रक्रिया त तपाईले अघि बढाई सक्नुभयो नी हामीले के प्रक्रिया अघि बढाउनु छ र ,जानकारी लिने भए अफिसमा आउनु टेलीफोनमा हुँदैन ।

हेमन्त पौडेल

धनगढी

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी योगबहादुर पालले ट्राफिक पोष्टबाट रकम तोकेर मासिक रकम उठाउने गरेको समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले छानविन प्रक्रिया शुरु गरेको छ । एसपी पालले अबैधरुपमा रकम असुल गरेर आम मानिसहरुलाई प्रभावित पार्ने काम गरेको भन्दै विभिन्न पत्रपत्रिकामा समाचार आएका थिए । मिडियामा समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको उजुरी तथा छानविन शाखाले छानविन प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिनुभयो ।

एसपी एसपी पाललाई मासिक पठाउनुपर्ने रकम पोष्टमा खटिएका ट्राफिक प्रहरीले जथाभावी उठाउन थालेपछि स्थानीयहरुको चर्को विरोध हुन थालेको छ । समाचार स्रोतका अनुसार ट्राफिक प्रहरी पोष्ट सुखडले ४० हजार,लम्कीले ३० हजार,चिसापानीले २५ हजार ,टीकापुरले ३० हजार,मसुरियाले २० हजार ,चौमालाले २५ हजार,गेटाले २० हजार ,त्रिनगरले ६० हजार,पुनर्वासले २० हजार ,कञ्नपुरको कलुवापुरले २० हजार र पहाडी क्षेत्रको पोष्टबाट प्रत्येक महिनाको ५ हजार बुझाउने गरेकाछन् । हरेक महिनाका १ गते स्टाफ बैठक भन्दै बोलाइएका इन्चार्जहरुले एसपी पाललाई रकम बुझाउने गरेकाछन् ।

एसपी पालको दवावमा ट्राफिक पोष्टका इन्चार्जहरुले पैसा उठाउने गरेकाछन् । आफूले तल्ला तहका कर्मचारीलाई पैसा उठाउन लगाउने र आफूले उनमुक्ति पाउने जुक्ति एसपी पालले गरेकाछन् । उनले गरेको कामकार्वाहीप्रति प्रहरी प्रधान कार्यालय पनि सन्तुष्ट बन्न सकेको छैन । चारैतिरबाट जनगुनासो बढेपछि प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता थापाले बताउनुभयो । प्रत्येक महिनाको १ गते इन्चार्जहरुलाई बैठक छ भन्दै बोलाएर रकम बुझ्ने गरेकाछन् ।

पछिल्लो समयमा पोष्ट इन्चार्जहरुले एसपीलाई बुझाउनुपर्ने रकममा बृद्धि गरेपछि सानोतिनो कुरामलाई पनि ठूलो रुप दिएर ट्राफिकहरुले पैसा असुल गर्ने गरेकाछन् । नाम उल्लेख नगर्ने शर्तमा एक इन्चार्जले भने हाकीमले दवाव नदिएको भए हामी जनतासंग पैसा उठाउने नै थिएनौ । मासिक बुझाउनुपर्ने रकम बढाएपछि हामीले पनि बाद्य भएर रकम संकलनको कामलाई तिब्र पार्नुपरेको हो उनले भने । यसरी उठाएका रकम एसपी पालका विश्वासपात्र हवलदार गोकर्ण पालले बुझ्ने गरेकाछन् ।

यस बारेमा बुझ्न खोज्दा प्रदेश नम्वर ७ का डिआजी सरद चन्दले प्रक्रिया त तपाईले अघि बढाई सक्नुभयोनी हामीले के प्रक्रिया अघि बढाउनु छ र ,जानकारी लिने भए अफिसमा आउनु टेलीफोनमा हुँदैन भन्दै रुखो जवाफ दिएका थिए । एसपी पालले गरेको कम्जोरीलाई सुधार गर्नुको साटो उल्टै डिआजीले संरक्षण भूमिका खेल्नुभएको छ ।