जापानलाई अवसर छ


आज समूह ‘एच’ को खेल समाप्तीसँगै पहिलो चरणको खेलको पनि अन्त्य हुनेछ। पहिलो खेलमा एसियन टोली जापानले कोलम्बियाको सामना गर्नेछ भने अर्को खेलमा सेनेगलले पोल्यान्डजस्तो सशक्त टोलीविरुद्ध खेल्नेछ।

जापान पहिलो चरणबाट पार गरेको आयोजक हुँदा २००२ विश्वकप र २०१० विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। गत विश्वकपमा पनि फितलो प्रदर्शनले गर्दा जापानको धेरै आलोचना भएको थियो। तर यसपटक पोल्यान्डलाई छाड्ने हो भने जापानको लागि अन्तिम १६ मा पुग्न अवसर छ। टोलीले आजको खेलमा कोलम्बियालाई पन्छाउनु अत्यन्त आवश्यक हुन्छ।

विश्वकप यात्रा
जापानले छनोट चरणको आफ्नो समूहमा सनसनीपूर्ण प्रर्दशन गरेको थियो। जापानले ७ जित दर्ता गर्दै २७ गोल गरेको थियो। अस्टे«लिया, संयुक्त अरब इमिरेट्सजस्ता टोली रहेको समूहमा जापानले उत्कृष्ट खेलेको थियो।

महत्वपूर्ण खेलाडी
शिन्जी कागावा जापानका प्रमुख हतियार हुन्। एट्याकिङ मिडफिल्डर कागावा एसियाका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनले पछिल्लो २ दशक बोरुसिया डर्टमन्डको सफलतामा महत्वपूर्ण भूमिका निभाएका थिए। उनले इंग्ल्यान्ड र जर्मनीमा दुई लिगको उपाधिसमेत जितेका छन्। उनले देशका लागि ८९ गोल गरेका छन्।
यस्तै शिन्जी ओकाजाकीले जापानका लागि १ सय १२ क्याप्स जितेका छन्। उनले देशका लागि ५० गोल गरेका छन्। उनले गत सिजन लेस्टर सिटीबाट उत्कृष्ट खेलेका थिए। मकोटो हसिबेले रसिया विश्वकपमा जापानको नेतृत्व गर्नेछन्। उनी पनि जापानका प्रभावशाली खेलाडी हुन्।