रुस लयमा छ: इजिप्टलाई जित नै जरुरी


आयोजक रुसले पहिलो खेलमा शानदार प्रदर्शन गरेको थियो। बिहीबार मस्कोमा भएको उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५–० गोलअन्तरले हराएपछि लयमा देखिएको छ। सोभियत संघ विघटनपछि रुसले पहिलो चरण पार गर्न सकेको छैन।

यो मौका छ, आयोजक भएको नाताले अन्तिम १६ मा पुग्न। पहिलो खेलमा धेरै नै प्रशंसनीय खेल पनि खेलेको छ रुसले। घरेलु दर्शकको समर्थन पनि प्राप्त हुँदा इजिप्टलाई रुसले पन्छाउन सक्ने अनुमान लगाउन सकिन्छ।

यदि पन्छाएमा रुस अन्तिम १६ मा पुग्ने पहिलो टोलीसमेत बन्नेछ।

उता पहिलो खेलमा उरुग्वेसँग अन्तमा गोल खाएर हारेपछि इजिप्टलाई प्रतियोगितामा अगाडि बढ्न यो खेल जित्नैपर्ने भएको छ। स्टार खेलाडी मोहमद सालाहले उरुग्वेविरुद्ध खेल्ने भने पनि खेलेनन्। यसैले त्यो खेल हारेको इजिप्ट टोलीले कारण देखाएको छ।

रुसविरुद्ध चाहिँ सालाहले खेल्ने आशा गरेका छन्। सालाह राम्ररी नै स्वस्थ भइसकेको टोलीले बताइरहेको छ। यदि सालाह खेलेमा रुसका लागि कठिन पनि हुन सक्छ।