कसरी हरायो सामाजिक सुरक्षाको २३ लाख रुपैया ?

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ कर्मचारीको साथबाट हराएको छ ।
पर्वतको सदरमुकाम कुश्मास्थित नेपाल बैंक लिमिटेडबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम बिचमा नै हराएको हो । रकम कुन ठाउँबाट कसरी हराएको भन्ने अहिले सम्म पत्ता लागेको छैन ।

गाउँपालिकाको रकम निकालेर शुक्रबार कुस्माको एक होटलमा बास बसेका पालिकाका लेखा अधिकेत गोबिन्द भट्टराई सहितका कर्मचारी शनिबार बिहादी फर्कने बेला स्याङ्गजा पुगेपछि रकम हराएको पत्ता पाएका थिए । रिर्जभ गरेको गाडीमा छुट्टाछुट्टै झोलामा वडाको रकम राखेकोमा त्यहाँ वडा नं. ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब भएको भेटिएको थियो । वयरघारीमा गाडी बिग्रेपछि हेर्ने क्रममा रकम भएको झोला गायब भएको भेटिएको कर्मचारीले प्रहरी संग बयान दिएका छन ।

यस अघि गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षाको रकम लिन शुक्रबार विहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, वडा नम्बर २ बर्राचौरका सचिव लिलाधर पराजुली, वडा नम्बर ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने, वडा नम्बर ५ उरामका वडा सचिव कृष्ण भुसाल र वडा नम्बर ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले गाडी रिजर्भ नै गरेर गएका थिए।

शनिबार कुश्माबाट गाउँपालिका हिँडेका उनीहरुले पोखराको होटेलमा खाना खाए। रिजर्भ गाडी भएको हुनाले उनीहरुले रकमतर्फ भने ध्यान दिएनन्। पोखरा खाना खाएपछि उनीहरु स्याङजाको बाटो हुँदै पर्वत फर्किए। स्याङजाको बयरघारीमा पुग्दा रिजर्भ गरेको गाडी बिग्रियो। गाडी बिग्रिएपछि बल्ल सचिवहरुले झोलातर्फ ध्यान दिएका थिए । रकम हराएपछि भने सचिवहरुले गाउँपालिकाका अध्यक्ष कमल भुसाल र प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्मा लाई फोन मार्फत जानकारी गराएका थिए ।

रकम हराएपछि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। सबै कर्मचारीहरु प्रहरीको शरणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक दिलिप रेग्मीले कर्मचारी संग सोधपुछ भैरहेको बताए । ‘रकम हराएको जानकारी पाएपछि सम्भावित ठाउँमा खोजवीन गरेका छौँ, कर्मचारीहरुसँग पनि सोधपुछ गरिएको छ ।’ उनले भने ।