तीन वर्ष पछि भूकम्प पिडितलाई लालपुर्जा

0
Shares

गोरखा (नेस)
२०७२ बैशाख १२ को भूकम्पले ध्वस्त जिल्लाको धार्चे २ केरौँजाका भूकम्प पिडितलाई लालपुर्जा वितरण गरिएको छ । आफ्नो जग्गामा बस्न नमिल्ने भएपछि त्यहाँका ४० घर परिवारलाई स्थानान्तरणका लागि सार्वजनिक ठाउँको लालपुर्जा वितरण गरिएको गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङले जानकारी दिए । केरौँजा गाउँ भूकम्प लगत्तै आएको गाउँमाथि र तलको पहिरोको समेत उच्च जोखिममा रहेको गाउँ हो ।

‘अहिले ४० घरधुरीलाई लालपुर्जा वितरण गरियो’ गाउँपालिका प्रमुख गुरुङ्गले भने ‘तीन वर्षयता यहाँका जनता घर बनाउने ठाउँ नहुँदा अस्थायी टहरोमा बस्तै आएका छन् । केहीले आफन्तको जग्गा भाडामा लिएर पनि बस्दै आएका छन् । तीनसय ५० घरधुरी भूकम्प पछि गएको पहिरोको उच्च जोखिममा भएपनि अहिले ४० धुरीलाई लालपुर्जा वितरण गरिएको हो ।’ जिल्लाको विकट क्षेत्रमार उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको नागरिकता वितरणक लागि आयोजना गरेको घुम्ती शिविरको अबसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लालपुर्जा वितरण गरे ।

गाउँपालिका प्रमुख गुरुङले बाँकी अरु भुकम्प पिडितलाई पनि तत्कालै लालपुर्जा वितरण गरिने बताएका छन् । भूगर्भविद्, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख लगायत कार्यकारी सदस्यहरुले स्थलगत अध्ययन गरेपछि विस्थापितहरुलाई केरौँजाकै विभिन्न क्षेत्रमा सार्न मिल्ने जनाएका थिए । डोङ्गानमा एक सय ४०, लामावेशीमा एकसय र बाङ्लामा ५२ घर धुरीलाई स्थानान्तरण गर्न लागिएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।