थापाद्वारा अनशन स्थगित


काठमाडौँ, रासस

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे विभिन्न असहमति राख्दै विगत ५३ दिनदेखि आमरण अनशनमा बस्नुभएका विजय थापाले आज अनशन स्थगित गर्नुभएको छ ।

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालको भातृ संगठन हाम्रो पार्टी नेपालले आज पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलनले सरकारको ध्यानाकर्षण नभएकाले कडा आन्दोलनमा जान अनशन स्थगित गरेको जानकारी दिएको हो । अनशनरत थापा मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालको भातृ संगठन हाम्रो पार्टी नेपालका संयोजक हुनुहुन्छ ।

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संरक्षक गोविन्द बोहरा ‘बह्माण्ड’ले चिकित्सा विधेयक खारेजीको माग राख्दै अनशन स्थगित भए पनि मोर्चाले अब कडा आन्दोलन गर्ने बताउनुभयो । प्रा डा गोविन्द केसीको इच्छाअनुसार चिकित्सा शिक्षा विधेयक आएपनि त्यो राष्ट्रको हितमा नरहेकोे उहाँले आरोप लगाउनुभयो ।

मोर्चाले नेपालमा चिकित्साशास्त्रको अध्ययन अध्यापनमा कायम सिण्डिकेट खारेज हुनुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयका रुपमा परिणत गरिनुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ तत्काल खारेज गर्नुपर्ने, सरकार र डा गोविन्द केसीबिच भएका सबै सम्झौता खारेज गर्नुपर्ने, एमबिबिएस, एमडीलगायत उच्च शिक्षाका नेपाली विद्यार्थीलाई चीन, रुस, बंगलादेशलगायत मुलुकमा पढ्न जानुपर्ने बाध्यकारी अवस्था अन्त्य हुनुपर्नेलगायतका आठ बुँदे माग राख्दै आएको छ ।